३१ वैशाख, जनकपुरधाम : धनुषाका निर्माण व्यवसायीहरू निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिको विरोधमा आन्दोलित भएका छन्। सरकारले मूल्यवृद्धिको अनुपातमा मूल्य समायोजन नगरेको भन्दै आक्रोशित व्यवसायीहरूले बिहीबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन्।

सोही क्रममा उनीहरूले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै माग सम्बोधन नभए मुलुकभरकै निर्माण कार्य ठप्प पार्ने चेतावनी समेत दिएका छन्।निर्माण व्यवसायी संघ धनुषाका अध्यक्ष असोक कुमार चौधरीका अनुसार मध्यपूर्वमा जारी युद्धका कारण इन्धन र निर्माण सामग्रीको मूल्य आकाशिएको भए पनि सरकारले तोकेको ‘इन्डेक्स’ रकममा कुनै वृद्धि गरिएको छैन।
यसले गर्दा व्यवसायीहरू ठूलो मारमा परेका छन्। छिमेकी मुलुकहरू भारत र बंगलादेशमा समेत मूल्य समायोजन भइसक्दा पनि नेपाल सरकारले कुनै चासो नदेखाएपछि बाध्य भएर आन्दोलनको बाटो रोज्नु परेको अध्यक्ष चौधरीले स्पष्ट पारेका छन्। व्यवसायीहरूले इन्धन र सामग्रीको मूल्य बढेको सुरुकै दिनदेखि लागू हुने गरी मूल्य समायोजन गरिनुपर्ने माग राखेका छन्।

आफ्ना मागहरूलाई थप दबाब दिन व्यवसायीहरूले शुक्रबार र आगामी सोमबार जिल्लाका चारवटै विकासे अड्डाहरूमा धर्ना दिने र ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेका छन्। ती विकासे अड्डाका प्रमुखहरूलाई भेटेर तत्काल निर्माण कार्य अघि बढाउन दबाब नदिन आग्रह गरिने र सरकारले मूल्य समायोजन नगरी काम सक्न बाध्य पारेमा त्यसको परिणाम राम्रो नहुने चेतावनी समेत व्यवसायीहरूले दिएका छन्।
