१७ वैशाख,जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका भूमिहीन बासिन्दाहरूले आफ्नो थातथलोको सुरक्षा र लालपुर्जाको माग गर्दै बिहीबार प्रदर्शन गरेका छन्। उपमहानगरपालिकाको वडा नं. २३ विन्धीका बासिन्दाहरूले आफ्नो भूमिको अधिकार सुनिश्चित गर्न माग गर्दै जनकपुरधाम उपमहानगरपालिका कार्यालय, मालपोत र जिल्ला प्रशासन कार्यालय पुगेर ध्यानाकर्षण गराएका हुन्।

प्रदर्शनका क्रममा उनीहरूले ‘लालपुर्जा दे सरकार’, ‘घर भत्काउन पाइँदैन’ र ‘डोजर आतंक बन्द गर’ जस्ता नारा लगाउँदै आफ्ना मागहरू अघि सारेका छन्। विगत २० वर्ष देखि वडा कार्यालयकै पहलमा जग्गा प्राप्त गरी घर बनाएर बसिरहेका उनीहरू दुई हप्ता अघि एक्कासि जग्गा खाली गर्ने सूचना आए पछि चिन्तित बनेका छन्। वर्षौँ देखि बसोबास गर्दै आएको बासस्थानबाट विस्थापित हुनु पर्ने अवस्था आएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्।

सो क्रममा स्थानीय सीता देवी मुखियाले आफ्नो पीडा व्यक्त गर्दै २० वर्ष लगाएर थोरथोरै पैसा जोहो गरी बनाएको घरमा डोजर चल्ने खबरले परिवारको भविष्य अन्योलमा परेको बताइन्। उनले आफूहरू कहाँ जाने र छोराछोरीको पालनपोषण कसरी गर्ने भन्ने गम्भीर प्रश्न गर्दै बसिरहेकै जमिनको लालपुर्जा उपलब्ध गराउन जनकपुरधामका मेयर र प्रधानमन्त्री बालेन्द्र शाह सँग माग गरिन्।

पछिल्लो समय रास्वपा नेतृत्वको सरकारले देशभरका सार्वजनिक र गुठीका अतिक्रमित जग्गा खाली गराउने अभियानलाई तीव्रता दिएको छ। काठमाडौं र वीरगन्ज पछि अब जनकपुरधाममा पनि यस्तो कदम चालिएपछि वर्षौँ देखि बसोबास गर्दै आएका परिवारहरू त्रसित बनेका छन्। प्रदर्शनकारीहरूले सरकारले तत्काल आफूहरूको समस्या पहिचान गरी लालपुर्जाको व्यवस्था गरेर न्याय दिनु पर्ने माग राखेका छन्।

