३१ वैशाख,काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाह संसदीय मर्यादा र परम्परा विपरीत गएको भन्दै गम्भीर आरोप लगाएका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साम्पाङले नीति तथा कार्यक्रम जस्तो महत्त्वपूर्ण विषयमा छलफल भइरहँदा सरकार प्रमुखले त्यसलाई प्रत्यक्ष रूपमा नसुनेको भन्दै कडा असन्तुष्टि व्यक्त गरे।
प्रधानमन्त्रीले संसदमा उपस्थित भएर छलफल सुन्नुको साटो लाइभमार्फत वा पछि सुन्ने कुरा संसदीय अभ्यास र मर्यादाको बर्खिलाप भएको उनको तर्क थियो। जीवनलाई सिकाइको रूपमा व्याख्या गर्दै उनले संसदमा उठाइएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री स्वयंले नै दिनुपर्ने अडान राखे।आफ्नो धारणा राख्ने क्रममा साम्पाङले ‘आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन’ भन्दै प्रधानमन्त्रीमाथि तिखो व्यङ्ग्य समेत गरे।
उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकार प्रमुख नै छलफलमा अनुपस्थित रहनु दुःखद भएको बताउँदै उत्तर दिने क्रममा प्रधानमन्त्री संसदमा उपस्थित हुने विश्वास व्यक्त गरे। यदि प्रधानमन्त्री आफैँ जवाफ दिन उपस्थित नभए आफ्नो दल श्रम संस्कृति पार्टीले बैठक बहिस्कार गरेर बाहिरिने चेतावनी समेत उनले दिएका छन्।
