२२ भदौ,काठमाडौं : रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा बाढी पछि सम्पर्कविहीन भएका व्यक्तिहरूको खोज तथा उद्धार कार्य अझै जारी रहेको प्रधानमन्त्री बालेन्द्र शाहले बताएका छन्।
भदौ १० गते बिहान रसुवागढीबाट करिब २० किलोमिटर उत्तरपूर्वमा रहेको लाङटाङ हिमालको ५ हजार ६ सय मिटर उचाइबाट हिमपहिरो खसेपछि भोटेकोशी नदीमा लेदो सहित अचानक बाढी आएको थियो। भीषण बाढीले विद्युत् आयोजना क्षेत्रहरूमा ठूलो क्षति पुर्याएको थियो। सञ्चालनमा रहेका तथा निर्माणाधीन आयोजनाहरूले भौतिक तथा मानवीय क्षति बेहोर्नु परेको थियो भने केही मानिसहरू सम्पर्कविहीन भएका थिए।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत विपद्को सुरुवात देखि नै खोज तथा उद्धारलाई निरन्तरता दिइएको जानकारी दिएका छन्। सीमित स्रोत, साधन र कठिन भौगोलिक अवस्थाका बाबजुद पनि सम्पर्कविहीनहरूको खोजी कार्यलाई अन्तिमसम्म जारी राखिने उनको भनाइ छ।
रसुवागढी जलविद्युत् आयोजनामा बाढीले हेडवर्क्सका सम्पूर्ण संरचनाका साथै पावरहाउस बाहिर र भूमिगत पावरहाउसमा रहेका अधिकांश सामग्रीमा क्षति पुर्याएको छ। बाढी आएको दिनदेखि नै खोजीको प्रयास गरिए पनि हेलिकप्टर समेत अवतरण गर्न नसक्दा आवश्यक उपकरण घटनास्थलमा पुर्याउन कठिन भएको थियो।
आयोजना क्षेत्रबाट उद्धार गरिएका एक कर्मचारीको सहयोगमा नेपाली सेनाको टोली सुरुङभित्र २७५ मिटर सम्म पुगे पनि त्यहाँ मानिस फेला पर्न सकेनन्। अहिले हेलिकप्टरबाट मिनी एस्काभेटर पुर्याएर थप खोजी भइरहेको छ।लाङटाङ जलविद्युत् आयोजनामा पनि बाढी आएको दिनदेखि नै खोजी सुरु गरिएको थियो।
भदौ १३ गते नेपाली सेना र भारतीय विशेषज्ञ टोली सुरुङको प्रवेश विन्दुबाट दलदल हटाउँदै करिब ६० मिटर भित्र पुगेको थियो। त्यहाँ ठूला चट्टान भेटिएपछि खोजीलाई थप प्रभावकारी बनाउने प्रयास गरिएको थियो। भदौ १६ गते नेपाली सेना र आयोजनाका कर्मचारी समेत परिचालन गरी ग्यास वेल्डिङको माध्यमबाट सुरुङमा प्वाल बनाएर भित्र प्रवेश गर्दा दुई शव फेला पारिएको प्रधानमन्त्री शाहले बताएका छन्। सो क्षेत्रमा अझै खोजी जारी छ।
चिलिमे जलविद्युत् आयोजना क्षेत्रमा नेपाली सेनाको टोली भदौ १० गते नै पुगेको थियो। तर दलदलका कारण सुरुङ भित्र प्रवेश गर्न समस्या भएको थियो। भदौ १३ गते भारतबाट आएको विशेषज्ञ टोली सहित रेकी गरेपछि भदौ १४ गतेदेखि संयुक्त रूपमा खोजी सुरु गरिएको थियो। सुरुङको प्रवेशविन्दु बाट दलदल पन्छाउँदै करिब ९० मिटरभित्र पुगेपछि दुई शव फेला परेका थिए। अहिले बबक्याट एस्काभेटरसहित अन्य उपकरणको प्रयोग गरेर खोजीलाई निरन्तरता दिइएको छ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना क्षेत्रमा पनि भदौ १० गतेदेखि खोजी सुरु भएको थियो। चीनबाट आएको विशेषज्ञ टोलीले भदौ १३ गते रेकी गरे पछि नेपाली सेना र चिनियाँ विशेषज्ञ टोलीले भदौ १४ गतेदेखि खोजी अघि बढाएका थिए। सुरुङको प्रवेश विन्दुबाट दलदल हटाउँदै करिब २०० मिटरभित्र पुग्दा पानी जमेको ताल भेटिएको थियो।
त्यस क्षेत्रमा थर्मल ड्रोनको प्रयोग गरेर समेत खोजी गरिएको थियो। पछि नेपाली सेना र कोरियन विशेषज्ञ टोलीले खोजीलाई निरन्तरता दिएको थियो। खोजीका क्रममा एक शव फेला परेको थियो भने भदौ २० गते थप एक जनाको उद्धार गर्नुका साथै दुई शव फेला पारिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।
नुवाकोट स्थित त्रिशूली–३ ए जलविद्युत् आयोजना क्षेत्रमा पनि बाढी आएको पहिलो दिन देखि खोजी सुरु गरिएको थियो। सुरुङको मुख पत्ता लगाउन नै चुनौती देखिएको थियो। नेपाल विद्युत् प्राधिकरण र नागढुंगा सुरुङ आयोजनाका विशेषज्ञ सहितको टोलीले भदौ १२ गते रेकी गरे पछि भदौ १३ गतेदेखि खोजी कार्य अघि बढाएको थियो।
खोजीलाई तीव्र बनाउन ६ वटा एस्काभेटर प्रयोग गरिएको थियो। करिब २५ मिटर उत्खनन गरेपछि बिजुलीका तारका लागि प्रयोग हुने सुरुङ भेटिएको थियो। त्यही सुरुङ मार्फत उद्धार टोली भित्र प्रवेश गरेको थियो। सुरुङको मुख खोल्न काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाबाट विस्फोटक पदार्थ तथा नागढुंगा सुरुङ आयोजनाबाट कम्प्रेसर ल्याइएको थियो।
ड्रिलिङ मेसिनसमेत प्रयोग गरिएको थियो भने आवश्यक सामग्री हेलिकप्टर मार्फत आयोजना क्षेत्रमा पुर्याइएको थियो। भदौ १९ गते दुई जनाको उद्धार गरिएको र एक शव फेला परेको थियो। त्यसपछि पनि थर्मल इमेजिङ तथा इन्फ्रारेड क्यामेराको प्रयोग गरी खोजी भइरहेको छ।
त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि भदौ १० गतेदेखि नै खोजीको प्रयास गरिएको थियो। भदौ १३ गते चिनियाँ टोलीले रेकी गरे पनि दलदलका कारण आवश्यक उपकरण सुरुङभित्र लैजान सकिएको थिएन। अहिले आयोजनाका कर्मचारी र नेपाली सेनाको टोलीले खोजीलाई निरन्तरता दिइरहेको छ। सुरुङको प्रवेशविन्दुबाट दलदल पन्छाउँदै टोली अडिट सुरुङको करिब १.७ किलोमिटरभित्रसम्म पुगेको छ। त्यस क्रममा सुरुङभित्र एउटा गाडी फेला परेको छ।
बाढीका कारण उक्त आयोजनाका ६ वटा आवासीय भवन र एउटा कार्यालय भवन समेत पुरिएका छन्। ती संरचना पत्ता लगाउन १५ मिटर गहिराइ सम्म उत्खनन भइसकेको प्रधानमन्त्री शाहले बताएका छन्। खोजीका लागि थप उपकरण घटनास्थलमा लैजाने काम पनि जारी छ।
प्रधानमन्त्री शाहले बाढी प्रभावित विद्युत् आयोजना क्षेत्रबाट धेरै मानिस सम्पर्कविहीन भएकाले खोज तथा उद्धारलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको बताएका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका संयुक्त टोली जोखिमपूर्ण परिस्थितिमा समेत निरन्तर परिचालित छन्। खोज तथा उद्धार अभियानमा सहयोग गर्न मित्रराष्ट्रहरू बाट विशेषज्ञ टोली समेत घटनास्थलमा पुगेका छन्।
शाहले सरकारले आफ्नो जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराखेको उल्लेख गर्दै सीमित स्रोत, साधन र समयका बाबजुद पनि खोज तथा उद्धार कार्यलाई अन्तिमसम्म जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले विपद्को यस कठिन अवस्थामा नेपालीको मानवीय भावनालाई व्यवहारमै उतारिरहेको बताएका छन्।
