२१ भदौ, काठमाडौं : बाढी–पहिरोका कारण देशका विभिन्न क्षेत्रमा संकट गहिरिँदा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी उद्धार तथा राहत कार्यमा अग्रपंक्तिमा खटिएका छन्। कठिन भूगोल, प्रतिकूल मौसम र जोखिमपूर्ण परिस्थितिका बीच सुरक्षाकर्मीले निर्वाह गरेको जिम्मेवारी प्रति प्रधानमन्त्री बालेन्द्र शाहले उच्च प्रशंसा व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नुभएको सन्देशमा विपद्को समयमा सुरक्षाकर्मीहरूले देखाएको साहस, त्याग र कर्तव्यनिष्ठाको प्रशंसा गर्नुभएको हो। उहाँले संकटका बेला सुरक्षाकर्मीहरूको सक्रियताले ठूलो संख्यामा नागरिकलाई सुरक्षित स्थानमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभएको छ।
प्रधानमन्त्री शाहले नुवाकोटको विदुर स्थित केन्द्रीय कारागारमा भएको उद्धारलाई सुरक्षाकर्मीको साहसको महत्वपूर्ण उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको छ। भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण कारागार क्षेत्र डुबानमा परे पछि त्यहाँ कार्यरत ५२ जना सुरक्षाकर्मीले ९२३ जना कैदीबन्दीलाई सुरक्षित स्थानमा सारेका थिए।
उद्धारका क्रममा भाग्न खोजेका ५० जना कैदीलाई पुनः नियन्त्रणमा लिनुका साथै स्थानीय बासिन्दाको ज्यान जोगाउन समेत सुरक्षाकर्मी सफल भएका थिए। ब्यारेक तथा कार्यालय लेदोले पुरिए पनि उनीहरूले आफ्नो जिम्मेवारीबाट पछि नहटी उद्धार तथा सुरक्षाको कामलाई निरन्तरता दिएको प्रधानमन्त्री शाहले बताउनुभएको छ।
प्रधानमन्त्री शाहका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासबाट हाल सम्म १३ हजार ३९१ जनाको उद्धार गरिएको छ। उद्धार अभियानमा नेपाली सेनाले ९ हजार २८७ जना जनशक्ति परिचालन गरी खोज तथा उद्धार, बेलीब्रिज निर्माण र प्राविधिक सहयोगमा नेतृत्व गरिरहेको छ भने नेपाल प्रहरीले ७ हजार ९७५ जना प्रहरी मार्फत खोज तथा उद्धार, राहत वितरण, शव व्यवस्थापन र शान्ति–सुरक्षा कायम गर्ने कार्यमा सक्रियता देखाएको छ।
त्यसै गरी सशस्त्र प्रहरी बलले ४ हजार २०२ जना सुरक्षाकर्मी परिचालन गरी गोताखोर, डोरी टोली, ड्रोन स्क्वाड तथा विपद् प्रतिकार्य बेस मार्फत जोखिमपूर्ण उद्धारमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।विपद्का क्रममा आफ्नै सहकर्मीहरू सम्पर्कविहीन भएको पीडाका बीच पनि सुरक्षाकर्मीहरूले नागरिकको उद्धार कार्यलाई निरन्तरता दिएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ।
उहाँका अनुसार ४५ सैनिक, २५ प्रहरी र १२ सशस्त्र प्रहरी सम्पर्कविहीन रहेको अवस्थामा समेत अन्य सुरक्षाकर्मीहरूले आफ्नो व्यक्तिगत पीडालाई थाती राखेर उद्धारमा सक्रियता देखाएका थिए। प्रधानमन्त्री शाहले सुरक्षाकर्मीहरूको त्याग र निष्ठाका कारण संकटको समयमा लाखौँ नागरिकले सुरक्षित महसुस गर्न पाएको बताउँदै उनीहरूप्रति भावपूर्ण सम्मान व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री शाहले विपद्को समयमा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीको सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता नगर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको छ। साथै, जोखिमपूर्ण परिस्थितिमा कर्तव्य निर्वाह गरिरहेका सुरक्षाकर्मीलाई साथ दिइरहेका परिवारजन प्रति उहाँले धन्यवाद तथा कृतज्ञता व्यक्त गर्नुभएको छ।
