२ जेठ,वीरगन्ज।वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह सहित चार जना विरुद्ध पर्सा जिल्ला अदालतमा लिखत सम्बन्धी कसुर सहित चारवटा मुद्दा दर्ता भएको छ। झुटा विवरण पेस गरेर अर्काकी छोरीलाई नागरिकता र राहदानी (पासपोर्ट) बनाएको उजुरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले शुक्रबार अदालतमा यी मुद्दाहरू दर्ता गराएको हो।
अदालतका श्रेस्तेदार प्रभाकर कुमार मलिकका अनुसार नगर प्रमुख सिंह लगायत लाई विपक्षी बनाएर मुद्दा नं ८२–सी–१–१०८३ मा लिखत सम्बन्धी कसुरको मुद्दा दायर गरिएको छ।यो प्रकरणमा सरकारी वकिलको कार्यालयले मेयर सिंह सहित सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की रिता भट्टराई, रुविना श्रेष्ठ र वीरगन्ज महानगरपालिकाका तत्कालीन पञ्जीकरण अधिकारी भिखारी रायलाई दोषी ठहर गर्दै मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ अनुसार सजायको माग गरेको छ।
मेयर सिंहले रिता भट्टराईलाई आफ्नो श्रीमती भएको झुटा विवरण पेस गरी २०७१ साल माघ २० गते रुविनाको जन्म दर्ता गराएको र सोही आधारमा २०७५ साउन १० गते नागरिकता तथा त्यसको १२ दिन पछि राहदानी समेत बनाएको मुख्य आरोप छ।यसै उजुरीलाई आधार मानेर सरकारी वकिल कार्यालयले थप तीनवटा मुद्दा (मुद्दा नं. १०८४, १०८५ र १०८६) समेत दर्ता गराएको छ।
जस मध्ये मुद्दा नं. १०८४ मा रुविना श्रेष्ठ विरुद्ध अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार ६ महिना कैद वा एक वर्ष बाल सुधार गृह सजायको माग गरिएको छ। त्यस्तै, मुद्दा नं. १०८५ मा नागरिकता ऐन, २०६३ र मुलुकी अपराध संहिता, २०७४ बमोजिम १५ हजार रुपैयाँ जरिवाना तथा मुद्दा नं. १०८६ मा झुटा विवरणबाट राहदानी लिएको कसुरमा २ लाखदेखि ५ लाख रुपैयाँ सम्म जरिवाना र १ देखि ३ वर्ष सम्म कैद सजायको माग दाबी गरिएको छ।
