६ वैशाख,जनकपुरधाम : विश्वप्रख्यात हिन्दू धर्मगुरु स्वामी रामभद्राचार्यले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को भारतप्रतिको दृष्टिकोण र कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। आइतबार जनकपुरधाम स्थित जानकी मन्दिरमा दर्शनका लागि पुगेका स्वामीले सञ्चारकर्मीसँग कुरा गर्दै बालेनमा हिन्दूत्व प्रति प्रेमको अभाव देखिएको र उनको भारतविरोधी मानसिकता उचित नभएको टिप्पणी गरे।
बालेन अझै युवा रहेको र राजनीतिमा परिपक्व भइनसकेको उल्लेख गर्दै उनले बालेनलाई आफ्नो मन भारत विरोधी नबनाउन र हिन्दूत्वतर्फ आकर्षित हुन सुझाव समेत दिए।आफ्नो धारणा राख्ने क्रममा स्वामी रामभद्राचार्यले नेपालको राजनीतिक र धार्मिक अवस्थाबारे पनि चर्चा गरे। उनले नेपालमा बढ्दो धर्मान्तरणप्रति गहिरो दुःख व्यक्त गर्दै यसलाई रोक्नुपर्नेमा जोड दिए।

स्वर्गीय राजा वीरेन्द्रको पालामा रहेका परम्पराहरू पुनः स्थापित गर्न सके देशका लागि राम्रो हुने बताउँदै उनले नेपालमा राजसंस्था र हिन्दू राष्ट्रको पुनः स्थापना हुनुपर्ने धारणा राखे। सरकारले चाहेमा नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउन धेरै समय नलाग्ने उनको दाबी थियो।नेपाल र भारत मिलेर एक महाशक्ति बन्नुपर्ने विचार राख्दै उनले नेपाल पूर्ण रूपमा समृद्ध र आत्मनिर्भर हुनुपर्ने कामना गरे।
विशेषगरी चीनसँगको निर्भरता त्याग्नु पर्नेमा जोड दिँदै उनले नेपाल कुनै पनि शक्ति राष्ट्रको दबाबमा पर्न नहुने बताए। प्रत्येक वर्ष जानकी मन्दिरको दर्शन गर्न आउने स्वामीले जनकपुर आउँदा आफूलाई आफ्नै ‘सम्धीको घर’ आएको जस्तो आत्मीय महसुस हुने गरेको भावुक अभिव्यक्ति समेत दिए।
