१५ भदौ ,(आशिष कुमार मण्डल),जनकपुरधाम : अविरल वर्षासँगै भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा लेदो (Flash Flood) बाट प्रभावित भएका नागरिकको सहायताका लागि जनकपुरधाम उपमहानगरपालिका अघि सरेको छ। संकटको यस घडीमा मानवीय ऐक्यबद्धता जनाउँदै उपमहानगरपालिकाले पीडित परिवारहरूका लागि ६ लाख २५ हजार रूपैयाँ मूल्य बराबरको ३०० बोरा चामल राहत स्वरूप उपलब्ध गराउने घोषणा गरेको छ।
गत आइतबारको अकल्पनीय प्राकृतिक विपत्तिका कारण मध्य तथा उत्तरी पहाडी क्षेत्रका थुप्रै बस्तीहरू तहसनहस भएका छन्। भीषण बाढीले रसुवाका टिमुरे, रसुवागढी, स्याफूबेसी, हाकुबेसी, मैलुङ र शान्तिबजार क्षेत्रमा ठूलो असर पुर्याएको छ। त्यस्तै नुवाकोटका बेत्रावती, त्रिशूली बजारसहितका नदी तटीय क्षेत्रहरू, धादिङका त्रिशूली नदी आसपासका तल्लो तटीय बस्तीहरू तथा गोर्खा र चितवनका त्रिशूली एवं नारायणी नदी किनारका जोखिमयुक्त भू-भागहरू अति प्रभावित बनेका छन्।
अचानक आएको लेदोसहितको बाढीले सयौँ परिवार विस्थापित हुनुका साथै ठूलो भौतिक पूर्वाधारमा क्षति पुगेको छ। यस विषम परिस्थितिमा मधेस प्रदेशको पर्यटकीय तथा ऐतिहासिक सहर जनकपुरधामले उद्दार र राहतमा हात बढाएको हो।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहका अनुसार प्रभावित क्षेत्रमा खाद्यान्न संकट नहोस् भन्ने उद्देश्यले तत्काल सहयोगको निर्णय गरिएको हो। “आइतबारको भयङ्कर विपत्तिले हाम्रा दाजुभाइ-दिदीबहिनीहरूलाई ठूलो सास्ती पुर्याएको छ,” नगर प्रमुख साहले भने, “यो कठिन समयमा पीडितहरूको भोक मेट्न उपमहानगरका तर्फबाट ३०० बोरा (करिब साढे ६ लाख रूपैयाँ बराबरको) चामल पठाउने निर्णय गरेका छौँ।”
नगर प्रमुख साहले विपद्को यो घडीमा सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, संघ-संस्था तथा आम नागरिकहरूलाई उद्धार र राहत कार्यमा एकजुट हुन हार्दिक अपिलसमेत गर्नुभएको छ। उपमहानगरपालिकाले प्रभावित क्षेत्रको वस्तुस्थितिको अनुगमन गरी राहत सामग्री वास्तविक पीडितसम्म अविलम्ब पुर्याइने प्रतिबद्धता व्यक्त गरेको छ।
