संजय कुमार यादव
जनकपुर ।
१० वैशाख : करिब ६२ वर्ष अघि स्थापना भएको देशकै एक मात्र चुरोट उद्योग जनकपुर चुरोट कारखाना लिमिटेड पुनः सञ्चालनको प्रतीक्षामा छ। एक समय प्रत्यक्ष रूपमा ७ सयभन्दा बढी र अप्रत्यक्ष रूपमा ३ हजार भन्दा बढीलाई रोजगारी दिएको यो कारखाना राजनीतिक हस्तक्षेपका कारण बन्द हुन पुगेको थियो।
२०४६ सालमा प्रजातन्त्र स्थापना भए पछि राजनीतिक नियुक्तिको प्रतिस्पर्धा सुरु भयो। सरकारका प्रतिनिधिहरूले आफ्ना निकट व्यक्तिहरूलाई प्रमुख पदमा राख्ने प्रवृत्तिले कारखानाको व्यवस्थापन कमजोर बन्दै गयो। देशकै सबैभन्दा बढी आम्दानी गर्ने उद्योग मध्ये एक रहेको यो कारखाना क्रमशः घाटामा जान थाल्यो।

पूर्व-कर्मचारीहरूका अनुसार स्थानीय नेताहरूको स्वार्थ र आसेपासे नियुक्तिको प्रभावले कारखाना अन्ततः बन्द हुन पुग्यो। जनकपुरमा मात्रै ३३ विघा ६ कठ्ठा जग्गा रहेको यस कारखानाको देशका अन्य २२ स्थानमा पनि सम्पत्ति रहेको छ। परिसर भित्र चुरोट उत्पादनसँगै प्रिन्टिङ प्रेस, वर्कसप र पावर हाउस जस्ता संरचना पनि रहेका छन्।
रिटायर कर्मचारी सेठ साहुका अनुसार रसियाबाट ल्याइएका अधिकांश मेसिनहरू अहिले पनि राम्रो अवस्थामा छन्। सानो मर्मत र सर्भिसिङ गरेमा चुरोट उत्पादन मात्र होइन, प्रिन्टिङ र वर्कसप सञ्चालन पनि सहजै गर्न सकिने अवस्था रहेको उनले बताए। उनका अनुसार बन्द हुँदा पनि धेरै मेसिनहरू नयाँ जस्तै अवस्थामा थिए।

कारखानाको प्रिन्टिङ प्रेसमा विभिन्न प्रकारका छपाइका काम गर्न सकिने क्षमता छ भने वर्कसपमा फलाम तथा सवारीसाधनका पार्टपुर्जा निर्माण गर्न सकिने मेसिनहरू प्रयोगविहीन अवस्थामा छन्। त्यस्तै, पावर हाउसमा रहेका उपकरणहरू प्रयोगमा ल्याउन सके विद्युत उत्पादनसमेत सम्भव रहेको बताइन्छ।
सुरक्षा इन्चार्ज तुला खड्काका अनुसार अहिले कारखानामा सात जना मात्र कर्मचारी कार्यरत छन्। केही साना उपकरण चोरी भए पनि मुख्य मेसिनहरू सुरक्षित छन्। तर लामो समय प्रयोगविहीन रहँदा यी उपकरणहरू कबाडमा परिणत हुने जोखिम बढ्दो छ।

उनका अनुसार निजी साझेदारीमा भए पनि कारखाना पुनः सञ्चालनमा आए सयौँले रोजगारी पाउने र राज्यको राजस्वमा समेत वृद्धि हुने निश्चित छ। हालको सरकारको रोजगारी सृजनाको प्रतिबद्धतासँगै धनुषावासीहरू यो ऐतिहासिक उद्योग पुनः सञ्चालन हुने आशामा छन्।
