१६ भदौ, महोत्तरी। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको राहत तथा क्षति व्यवस्थापनका लागि महोत्तरीको मटिहानी नगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ। नगर प्रमुख हरि प्रसाद मण्डलको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. ५ लाख जम्मा गर्ने निर्णय गरेको हो।
बैठकले बाढीका कारण ज्यान गुमाएका नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, विपत्तिमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ।
यसैबिच, बाढीका क्रममा बेपत्ता भएका मटिहानी नगरपालिका वडा नं. ७ का ४० वर्षीय गंगाराम मण्डलको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ। कार्यपालिका बैठकले मण्डलको शीघ्र खोजी र उद्धारका लागि पूर्ण सहयोग पुर्याउन सम्बन्धित सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग जोडदार आग्रह गरेको छ।
