२ वैशाख,जनकपुर : सहित तराई–मधेस क्षेत्रमा आज जुडशीतल पर्व हर्षोल्लासका साथ मनाइँदै छ । पर्वको अवसरमा मधेश प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । प्रकृति र स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध जोडिएको यो पर्वलाई मिथिला तथा मधेश क्षेत्रमा नयाँ वर्षका रूपमा विशेष महत्वका साथ मनाउने गरिन्छ ।
गर्मीको सुरुवातसँगै शरीर, घरपरिवार र वातावरणलाई शीतल बनाउने उद्देश्यले यो पर्व मनाउने परम्परा रहिआएको छ । जुडशीतलका दिन बिहानै घरका ज्येष्ठ सदस्यहरूले साना सदस्यहरूको टाउकोमा पानी हालेर आशीर्वाद दिने चलन छ ।
‘जुड’ अर्थात् जुराउने र ‘शीतल’ अर्थात् चिसोपन दिने सांस्कृतिक मान्यतालाई यस दिन व्यवहारमा उतारिन्छ । घर, आँगन, चुलो, सवारी साधनदेखि पशुपक्षी र बोटबिरुवा सम्म पानी छर्केर शीतलता प्रदान गरिन्छ । चुलोलाई समेत जुराइने भएकाले यस दिन घरमा आगो बाल्ने चलन हुँदैन ।
पर्वसँगै सरसफाइ र वातावरण संरक्षणमा पनि विशेष ध्यान दिइन्छ । गाउँघरमा इनार, कुवा र पोखरी सफा गर्ने तथा मर्मत गर्ने परम्परा रहिआएको छ । शरीरमा हिलो दल्ने चलनलाई प्राकृतिक उपचारका रूपमा लिइन्छ, जसले गर्मीजन्य रोगबाट जोगाउने विश्वास गरिन्छ ।
खानपान तर्फ अघिल्लो दिन पकाइएको बासी भात, दही, तरुवा र बरी खाने प्रचलन छ । यिनै परिकार कुलदेवतालाई चढाइने र चिल तथा स्याललाई समेत नैवेद्य दिने परम्परा रहेको छ ।
विक्रम संवत् नयाँ वर्षको अवसरमा मनाइने यो दुई दिने पर्वअन्तर्गत पहिलो दिन ‘सतुवाइन’ मनाइएको थियो भने आज वैशाख २ गते जुडशीतलको मुख्य विधि सम्पन्न गरिँदै छ । सामाजिक सद्भाव, पारिवारिक एकता र प्रकृतिसँग सह-अस्तित्वको सन्देश दिने पर्वका रूपमा जुडशीतललाई लिइन्छ ।
