१ वैशाख,काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘महाराजधिराज’ मा मुख्य भूमिकाका लागि अभिनेता पुष्प खड्का अनुबन्धित भएका छन्। निर्माण टिमले नयाँ वर्षको अवसर पारेर उनको अनुबन्ध घोषणा गर्दै चलचित्रको आकर्षक पोस्टर पनि सार्वजनिक गरेको छ।
लामो समयदेखि राजाको भूमिकामा कसले अभिनय गर्ने भन्ने कौतुहलता अन्त्य गर्दै टिमले पुष्पलाई सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा उनलाई दुई फरक र शक्तिशाली अवतारमा प्रस्तुत गरिएको छ।
एकातर्फ पूर्ण राजकीय ठाँटमा श्रीपेच, राजदण्ड र शाही पोसाकसहित, भने अर्कोतर्फ अत्यन्तै कमजोर र नग्न अवस्थाको प्रतीकात्मक चित्रण। यी दुई रूपले चलचित्रको कथावस्तु गहिरो र अर्थपूर्ण हुने संकेत गर्छ।
पोस्टरसँगै सार्वजनिक गरिएको सन्देश “सत्कर्म सद्भावका कदमले हरपल साथ निभाओस्, वैमनस्यता बेइमानी संकट कुनै पल नजिक नआओस्” ले पनि कथाको भाव झल्काउँछ।
विशेष कुरा, पुष्पले यो चलचित्रमा अनुबन्ध हुँदा आफ्नै औंला काटेर रगतले हस्ताक्षर गरेका थिए, जुन नेपाली फिल्म उद्योगमा असामान्य अभ्यास मानिन्छ। उनले यो भूमिकालाई आफ्नो करिअरकै ठूलो चुनौतीका रूपमा लिँदै छायांकन अवधिभर अन्य कुनै फिल्म, म्युजिक भिडियो वा सामाजिक सञ्जालका भिडियो सामग्रीमा संलग्न नहुने घोषणा गरेका छन्।
चलचित्रले थ्रिलर तथा पिरियड ड्रामाको झल्को दिने संकेत देखिएको छ। निर्देशक सुनिल सेन को ‘ड्रिम प्रोजेक्ट’ मानिएको यस फिल्ममा नीर शाह, आर्यन सिग्देल, रमेश उप्रेती, वर्षा राउत लगायतका कलाकारको समेत अभिनय रहनेछ।
वैशाखको दोस्रो सातापछि छायांकन सुरु हुने यस चलचित्रको सुरुवात सुनसरी स्थित श्रीलंका टापुबाट गरिनेछ भने त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका ऐतिहासिक स्थानहरूमा छायांकन हुनेछ। चलचित्रमा छायांकन नवराज थापा ले गर्नेछन्।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने ‘महाराजधिराज’ मा निर्देशक सेनकै लेखन रहेको छ। यसअघि उनको निर्देशनमा बनेको प्रेमगञ्ज समीक्षात्मक रूपमा सफल मानिएको थियो।
निर्माता रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट रहेको यस चलचित्रलाई आगामी बडादशैंको फूलपातीको अवसर पारेर देशव्यापी प्रदर्शन गर्ने लक्ष्य निर्माण टिमले लिएको छ।
