२८ वैशाख,जनकपुरधाम : नेपालमा एचआईभी संक्रमितहरूको पछिल्लो तथ्याङ्कले चिन्ताजनक अवस्था देखाएको छ, जसमा मधेश प्रदेश देशभरमै दोस्रो बढी संक्रमित भएको प्रदेशका रूपमा देखिएको छ। मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले जनकपुरधाममा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरिएको विवरण अनुसार देशभरका ३५ हजारभन्दा बढी संक्रमितमध्ये मधेशमा मात्रै झण्डै ५ हजार जना रहेका छन्। सबैभन्दा बढी संक्रमित भएको प्रदेशको सूचीमा भने लुम्बिनी प्रदेश पहिलो स्थानमा रहेको छ।

तथ्याङ्क अनुसार मधेश प्रदेशमा हाल ४ हजार ६ सय ८० जना एचआईभी संक्रमित रहेका छन्, जसमा महिला र बालबालिकाको संख्या उल्लेख्य छ। आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को परीक्षणका क्रममा करिब ६ प्रतिशतमा संक्रमण पुष्टि हुनुले यो समस्या झन् भयावह बन्दै गएको संकेत गर्दछ। प्रदेशका आठ जिल्ला मध्ये पर्सा र धनुषा सबैभन्दा उच्च जोखिममा देखिएका छन्। पर्सामा १ हजार ५ सय ४ र धनुषामा ८ सय ८६ जनामा संक्रमण पुष्टि भइसकेको छ, जसमा १५ देखि ४९ वर्ष उमेर समूहका व्यक्तिहरू बढी प्रभावित छन्।

मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका सचिव डा. प्रमोद यादवका अनुसार जनचेतनाको कमी, अशिक्षा, वैदेशिक रोजगारी र समयमै उपचार नगराउने प्रवृत्तिका कारण संक्रमितको संख्या घट्न सकेको छैन। विशेषगरी जनकपुरधाममा मात्रै ८ सय जना संक्रमित फेला पर्नुले स्थिति गम्भीर मोडमा पुगेको देखाउँछ। यो चुनौतीलाई न्यूनीकरण गर्न र थप संक्रमण फैलिन नदिन जनचेतना फैलाउनुका साथै सबै सरोकारवाला निकायहरू गम्भीर भएर लाग्नुपर्ने आवश्यकता देखिएको छ।
