१ वैशाख,काठमाडौं : गृहमन्त्री सुधन गुरुङले लामो समय देखि निर्माणाधीन अवस्थामै अलपत्र रहेको नारायणगढ–बुटवल सडक खण्डको स्थलगत अनुगमन गर्दै चिनियाँ ठेकेदार कम्पनीलाई काममा तीव्रता दिन कडा निर्देशन दिएका छन्।
सडकको दयनीय अवस्थाका कारण सर्वसाधारणले भोग्नुपरेको सास्ती, दैनिक आवागमनमा भइरहेको अवरोध र बढ्दो दुर्घटनाको जोखिमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले निर्माण कार्यमा भइरहेको सुस्तताप्रति असन्तुष्टि जनाएका हुन्।
अनुगमनका क्रममा गृहमन्त्री गुरुङले नागरिकको सुरक्षा र सुविधा सरकारको पहिलो प्राथमिकता रहेको स्पष्ट पार्दै निर्माण कार्यमा कुनै पनि किसिमको लापरबाही र ढिलासुस्ती अब स्वीकार्य नहुने चेतावनी दिए। उनले ठेकेदार कम्पनीलाई जिम्मेवार बन्न र निर्धारित समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिँदै विकास निर्माणका काममा सरकारी अनुगमनलाई थप कडाइ गरिने बताए।
गृहमन्त्रीको दबाब र निर्देशन पछि चिनियाँ ठेक्का कम्पनीका प्रतिनिधिहरूले आफ्नो गल्ती स्वीकार गर्दै अबको १५ दिनभित्र सडक निर्माणको मुख्य कार्य सम्पन्न गर्ने लिखित प्रतिबद्धता जनाएका छन्। उनीहरूले जनशक्ति र स्रोतसाधन थप गरेर भए पनि तोकिएको समयसीमाभित्रै काम सक्ने आश्वासन दिएका छन्।
