३० चैत्र,काठमाडौं । नेपाली वेब सिरिजको क्षेत्रमा एउटा महत्वाकांक्षी प्रोजेक्टको रूपमा हेरिएको ‘साहु बा’ को ट्रेलर सार्वजनिक भएको छ। म्युजिक नेपाल र फ्रेम इन मोसनको संयुक्त प्रस्तुतिमा तयार पारिएको यस सिरिजको १ मिनेट ४४ सेकेन्ड लामो ट्रेलरले दर्शकमाझ ठूलो कौतुहलता र उत्साह जगाएको छ। विशेषगरी क्राइम, एक्सन र रिभेन्ज (बदला) को कथावस्तुमा आधारित यो सिरिजले नेपाली डिजिटल प्लेटफर्ममा नयाँ मानक स्थापित गर्ने संकेत दिएको छ।
सार्वजनिक ट्रेलरको सुरुवातमा देखाइने सेतो कागजको जहाज र रगतले लतपतिएका हातहरूले कथामा भावनात्मक बदलाको पक्ष निकै बलियो रहेको झल्को दिन्छ। विजु पार्की मुख्य पात्रको रूपमा देखिएको यस ट्रेलरमा उच्च गुणस्तरको सिनेमेटोग्राफी र कडा एक्सन दृश्यहरूलाई प्राथमिकता दिइएको छ। सामान्यतया नेपाली सिरिजहरू संवादमा बढी केन्द्रित हुने भए पनि ‘साहु बा’ मा सडकका स्टन्ट र गोदामभित्रका ‘कोरियोग्राफ्ड’ लडाइँलाई निकै मेहनतका साथ प्रस्तुत गरिएको छ। ट्रेलरको अन्त्यमा देखाइएको भव्य रातो कुर्सीले शक्ति र सत्ताका लागि हुने संघर्ष नै सिरिजको मुख्य मियो रहेको बुझिन्छ।

निर्देशक एवं लेखक सुजोय योङका अनुसार यो सिरिज निर्माण गर्न टोलीले करिब तीन वर्ष खर्चिएको छ। यसको अर्को रोचक पक्ष भनेको कलाकारहरूको ठूलो संख्या हो; यस सिरिजमा ३८० भन्दा बढी कलाकारले अभिनय गरेका छन्। प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, सरिता गिरी, नम्रता श्रेष्ठ, अमित शाह लगायतका स्थापित कलाकारहरूको अभिनयले सिरिजलाई थप ओजिलो बनाएको छ।
सिरिजको प्राविधिक पक्ष पनि उत्तिकै सबल देखिन्छ, जसमा आयुषमान डी जोशी सहितको टोलीले छायांकन र पेमा लामा तथा राजु तामाङले द्वन्द्व निर्देशन गरेका छन्। आगामी १७ अप्रिल २०२६ (२०८३ वैशाख ४ गते) बाट औपचारिक रूपमा प्रसारण हुने यो २४ एपिसोडको सिरिज दर्शकले मोमो एप र म्युजिक नेपाल इन्टरटेनमेन्टको युट्युब च्यानल मार्फत हेर्न पाउनेछन्।
