१६ भदौ,काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको खोजी तथा उद्धार कार्य सम्पन्न गर्दै सरकार पूर्ण रूपमा पुनर्रचना र पुनर्स्थापनाको चरणमा प्रवेश गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत देशवासीका नाममा सन्देश जारी गर्दै संकटको यस घडीमा धैर्य र ऐक्यबद्धता जनाउने सम्पूर्ण नागरिक, सुरक्षाकर्मी, जनप्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदाय प्रति आभार व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री शाहका अनुसार बाढी प्रभावित क्षेत्रको पुनःस्थापना, राहत वितरण, पूर्वाधार निर्माण र सम्भावित स्वास्थ्य जोखिम नियन्त्रणका लागि सरकारले युद्धस्तरमा काम गरिरहेको छ।विपद् व्यवस्थापनका लागि सरकारले १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ, जस मध्ये राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत ३ जिल्लाका १५ स्थानीय तहका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा भइसकेको छ।
प्रधानमन्त्री राहत कोषमा स्वदेश तथा विदेशबाट गरी हालसम्म ६ अर्ब ३६ करोड ६५ लाख रुपैयाँ भन्दा बढी जम्मा भइसकेको छ भने १ अर्ब निकासापछि कोषमा ५ अर्ब ३६ करोड ६५ लाख रुपैयाँ मौज्दात रहेको छ। यस बाहेक बैंक खाताहरूमा ६१ लाख ११ हजार अमेरिकी डलर भन्दा बढी रकम प्राप्त भइसकेको छ।
हाल सम्म बाढी प्रभावित क्षेत्रबाट ११,८८४ जनाको उद्धार गरिएको छ भने ३,९१६ जना अझै सम्पर्कविहीन रहेका छन्। घाइते भएका २९२ जनामध्ये १८२ जना उपचार पछि डिस्चार्ज भइसकेका छन्। नुवाकोट, धादिङ, रसुवा र काठमाडौँका विभिन्न होल्डिङ सेन्टरहरूमा हजारौँ नागरिकले आश्रय लिइरहेका छन् भने नुवाकोटका १९ वटा अस्थायी आश्रयस्थलमा मात्रै २,६५३ जनालाई राहत उपलब्ध गराइएको छ।
बाढीका कारण गल्छी–वेत्रावती–रसुवागढी सडक, पृथ्वी राजमार्गका विभिन्न खण्ड, ४८ वटा झोलुंगे पुल र ३१ वटा मोटरेबल पुलमा क्षति पुगेको छ। पृथ्वी राजमार्गको लेदो हटाएर यातायात पुनः सञ्चालन गरिएको छ भने क्षतिग्रस्त मुग्लिन–नारायणगढ सडकको कृष्णभीर खण्ड भदौ महिना भित्रै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। ३ ठाउँमा बेलिब्रिज राख्ने प्रक्रिया सुरु भइसकेको छ भने अन्य २० स्थानमा सम्भाव्यता अध्ययन भइरहेको छ।
प्रभावित क्षेत्रमा सम्भावित महामारी फैलिन नदिन ‘विपद्–पश्चात् सरुवा रोग निगरानी तथा प्रतिकार्य योजना’ लागू गरिएको छ। नेपाली सेनाले कीटाणुशोधन अभियान र स्वास्थ्य सचेतना माइकिङ गर्नुका साथै मानसिक तनाव कम गर्न मनोपरामर्श टोली तथा एम्बुलेन्सहरू तैनाथ गरेको छ। बाढीमा परी हालसम्म १,०५० जनाको शव फेला परेको छ।
पहिचान नभएका शवहरूलाई ‘बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०८३’ बमोजिम डिएनए नमुना सुरक्षित राखी वैज्ञानिक प्रक्रियाबाट व्यवस्थापन गरिएको छ। आफन्त हराएका नागरिकले नेपाल प्रहरी अस्पताल वा जिल्ला प्रहरी कार्यालयमा डिएनए नमुना दिन सक्नेछन् भने विदेशमा रहेका आफन्तका लागि प्रहरीको इमेल (dnacodis@nepalpolice.gov.np) मार्फत डिएनए सफ्टकपी पठाउने व्यवस्था मिलाइएको छ।
यस विपद्को घडीमा भारत, चीन, पाकिस्तान, युएई, श्रीलंका, अमेरिका, अस्ट्रेलिया र स्विट्जरल्यान्ड जस्ता मित्रराष्ट्रहरूबाट नगद, राहत सामग्री, उद्धार टोली र बेलिब्रिज लगायतका उल्लेख्य सहयोग प्राप्त भइरहेको छ। साथै, एसियाली विकास बैंक (एडीबी) बाट ५.१५ मिलियन डलर र विश्व बैंकबाट १६७ मिलियन डलर सहुलियतपूर्ण कर्जाको प्रतिबद्धता प्राप्त भएको छ।
प्रधानमन्त्री शाहले विज्ञहरूसँगको छलफललाई उद्धृत गर्दै हिमाली क्षेत्रमा तापक्रम १.८ डिग्री सेल्सियस सम्म वृद्धि भई हिउँ–चट्टान खसेका कारण यो बाढी आएको बताउनु भयो। जलवायु परिवर्तनको यो गम्भीर असरलाई नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा बलियो गरी उठाउने उहाँले स्पष्ट पार्नुभएको छ।
