१४ भदौ,काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बलेन) ले सामाजिक सञ्चाल मार्फत दिएको जानकारी अनुसार रसुवाको भोटेकोशी नदीमा आएको अविरल बाढीका कारण उत्पन्न संकट समाधान गर्न राज्य संयन्त्र पूर्ण रूपमा परिचालन गरिएको छ। विपद्को पाँचौँ दिन पुग्दा प्रधानमन्त्रीले सामाजिक सञ्चालमा सार्वजनिक गर्नुभएको विस्तृत विवरण अनुसार हालसम्म भएका प्रमुख प्रयासहरू:
उद्धार तथा राहतको स्थिति
नागरिक उद्धार: प्रतिकूल मौसम र जटिल भूगोलका बाबजुद हवाई तथा स्थलमार्गबाट ९,४३५ जनाको उद्धार गरिएको छ।
उडान र सुरक्षाकर्मी: उद्धारका लागि कुल ३९४ उडान भरिएको छ भने सेना, प्रहरी र सशस्त्र प्रहरी गरी २०,६१८ जना सुरक्षाकर्मी खटिएका छन्।
सुरुङ र जलविद्युत् आयोजना: माथिल्लो त्रिशूली–१, ३ ‘ए’, ३ ‘बी’, चिलिमे, लाङटाङ र मैलुङ खोला जलविद्युत् आयोजनामा फसेका मानिसहरूको खोजीका लागि चिनियाँ, कोरियन र भारतीय विशेषज्ञ टोलीहरूसँगको समन्वयमा ‘ब्लास्टिङ’ तथा हवाई रेकीमार्फत अहोरात्र काम भइरहेको छ।
उपचार, आर्थिक सहयोग र अन्तर्राष्ट्रिय सहायता
स्वास्थ्य उपचार: बाढीमा घाइते भएका २६७ जनामध्ये १५६ जना डिस्चार्ज भइसकेका छन् भने अन्यको काठमाडौँ र स्थानीय अस्पतालमा उपचार जारी छ।
राहत कोष: प्रधानमन्त्री राहत कोषका ९ वटा बैङ्क खाताहरूमा ५ अर्ब २४ करोड ७९ लाख रुपैयाँ र २१ लाख अमेरिकी डलरभन्दा बढी रकम जम्मा भइसकेको छ।
वैदेशिक सहयोग: विश्व बैंकबाट १६७ मिलियन डलर सहुलियतपूर्ण कर्जा, एडीबीबाट ५ मिलियन डलर अनुदान, अमेरिका, अष्ट्रेलिया, स्विट्जरल्यान्डका साथै भारत र चीनबाट बेलीब्रिज, मानवीय सहायता सामग्री र औषधि प्राप्त भएका छन्।
सञ्चार, सडक र बेवारिसे शव व्यवस्थापन
सञ्चार पुनर्स्थापना: नेपाल टेलिकमका १०६ र एनसेलका ७५ बिटिएस टावर सञ्चालनमा ल्याइएको छ भने प्रभावित क्षेत्रमा २० वटा स्याटलाइट फोन पठाइएको छ।
सडक: पहिरो र कटानका कारण अवरुद्ध भएका वैकल्पिक सडकहरू खुलाउने काम भइरहेको छ।
शव व्यवस्थापन: बाढीमा परी हालसम्म ७८१ जनाको शव फेला परेको छ। पहिचान हुन नसकेका शवहरूलाई ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम डिएनए (DNA) सुरक्षित राखी व्यवस्थापन गर्न सुरु गरिएको छ।
प्रधानमन्त्री शाहले सामाजिक संजालमा लेख्दै सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिएको र पुनर्निर्माण तथा पुनःस्थापनाको काम नसकिएसम्म निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
