१० वैशाख : महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले आफ्नो नाम, लोगो तथा नगर प्रमुखको पहिचान दुरुपयोग गरी सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाइएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नगर कार्यपालिकाको कार्यालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार केही समययता नगर प्रमुख र मटिहानी नगरपालिकासम्बन्धी झुटा, आधारहीन तथा भ्रामक सामग्री फेसबुक र टिकटक जस्ता प्लेटफर्म मार्फत प्रसारण भइरहेको पाइएको छ। यस्ता गतिविधिले आम नागरिकमा भ्रम सिर्जना गर्नुका साथै समाजमा गलत सन्देश फैलाउने काम गरिरहेको नगरपालिकाले जनाएको छ।
विज्ञप्तिमा यस्ता कपोलकल्पित तथा भ्रामक सूचना फैलाउने व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने र सामाजिक सञ्जाल दुरुपयोग सम्बन्धी मुद्दा चलाउने तयारी समेत गरिएको स्पष्ट गरिएको छ।
नगरपालिकाले सबै सर्वसाधारणलाई यस्ता भ्रामक सूचना फैलाउने कार्यमा संलग्न नहुन तथा सामाजिक सञ्जालमा देखिएका सामग्रीको आधिकारिकता जाँच गरेर मात्रै साझा गर्न आग्रह गरेको छ।
नगरपालिकाका सूचना प्रविधि अधिकृत जय कुमार यादव द्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार बन्न र गलत सूचना नियन्त्रणमा सहयोग गर्न विशेष अपिल गरिएको छ।

