२८ चैत,काठमाडौं । विन्ध्यवासिनी म्युजिक अवार्ड २०८२ मा वरिष्ठ संगीतकार शम्भूजित बासकोटालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। उनलाई नगद १ लाख १ रुपैयाँ सहित सम्मानपत्र, ट्रफी, दोसल्ला र माला द्वारा सम्मानित गरिएको हो।
शुक्रबार सम्पन्न १६औँ संस्करणको अवार्ड समारोहमा गायक शिव परियार र गायिका समीक्षा अधिकारी सर्वोत्कृष्ट आधुनिक गायक–गायिका घोषित भए। परियारले ‘परेली’ गीतबाट अवार्ड जित्दा अधिकारीले ‘के हेरेको टुलुटुलु’ गीतमार्फत उपाधि हात पारिन्। दुवैलाई नगद ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिएको थियो।
कुल ११ विधामा आयोजना गरिएको अवार्ड कार्यक्रममा कला पत्रकारिता सम्मान पत्रकार पवन आचार्यलाई २५ हजार रुपैयाँ सहित प्रदान गरियो। त्यसैगरी प्रेमध्वज संगीतरत्न सम्मानअन्तर्गत गायिका रचना रिमाल, विन्ध्यवासिनी संगीत साधना सम्मान गीतकार विजय शिवाकोटी र झलकमान लोक संगीत सम्मान गायक पशुपति शर्मालाई क्रमशः नगद पुरस्कार सहित सम्मानित गरियो।

लोकदोहोरी तर्फ सर्वोत्कृष्ट गायिकाको अवार्ड ज्योति मगर (‘झ्याप्पै’) र गायकतर्फ अर्जुन सापकोटा (‘झलिको’) विजेता बने।अवार्ड समारोहकी अध्यक्ष लीना शर्मा रेग्मीले कलाकारको सम्मानका लागि अवार्ड निरन्तर परिमार्जन गर्दै अघि बढाइएको बताइन्। यस वर्ष विधा घटाएर ११ मा सीमित गरिएको उनले जानकारी दिइन्।
कार्यक्रममा समीक्षा अधिकारी, सुमन कुमार श्रेष्ठ, अजर जंगम, पशुपति शर्मा र रचना रिमालले सांगीतिक प्रस्तुति दिएका थिए भने गीता ढुंगाना, बबिन सिंह ठकुरी, कविता न्यौपाने र एलिना रायमाझीले नृत्य प्रस्तुत गरे।
यसै गरी सर्वोत्कृष्ट शब्द रचना भूपेन्द्र बुढाथोकीले जिते, जसले पब्लिक च्वाइस अवार्डसमेत हात पारे। ‘मिर्मिरेमा बासेको भाले’ गीतबाट शिव हमालले उत्कृष्ट संगीतकारको अवार्ड जिते।
अन्यतर्फ दीपक विष्ट (भिडियो सम्पादन), बुद्ध थापा (छायांकन), गीता ढुंगाना र प्रभातपाल ठकुरी (म्युजिक भिडियो मोडल) तथा रितु बोहरा (नवगायन) पनि सम्मानित भए।(फोटोः सुमन बैरागी)
