२८ चैत,जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलीयाको शान्त बस्तीमा रहेको ४ धुर जमिनमा बनेको एउटा सानो एकतल्ले घर अहिले देशभर चर्चामा छ। बाहिरबाट हेर्दा अत्यन्त साधारण देखिने यही घरकी सदस्य २५ वर्षीया रुबी कुमारी ठाकुर हालै संघीय संसद्को प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छन्।
रुबी उपसभामुख बनेसँगै मुजेलीयाको यो सानो बस्ती र घर राष्ट्रिय ध्यानको केन्द्र बनेको छ। उनको जीवनशैली जस्तै परिवारको अवस्था पनि अत्यन्त सामान्य छ। अझ रोचक कुरा, उनका बुबा–आमा र भाइलाई ‘उपसभामुख’ पदको महत्व र गरिमाबारे स्पष्ट जानकारी समेत छैन। उनीहरूलाई यति मात्र थाहा छ—छोरीले ठूलो राजनीतिक जिम्मेवारी पाएकी छन्।

रुबीका बुबा सोगारथ ठाकुर वैदेशिक रोजगारीका लागि साउदी अरबमा थिए। छोरी सांसद बनेको खबर उनले उतै सुनेका थिए। हालै बिदामा घर फर्किएका उनी भन्छन्, “साउदीमा रहेका नेपालीहरूले बधाई दिँदा गर्वले छाती फुल्थ्यो। गरिबीका कारण छोरीसँग धेरै समय बिताउन पाइएन, तर आज उसले देश र जनकपुरको नाम उँचो बनाएको देख्दा खुसी लागेको छ।”
रुबीको सफलताको आधार उनकी आमा रेणु ठाकुर हुन्। ४ छोरी र २ छोराकी आमा रेणु दिनभर अधियाँमा लिएको खेतमा काम गर्छिन्। छोरी उपसभामुख बनेको खबर अझै पनि उनलाई सपना जस्तो लाग्छ। उनी भन्छिन्, “रुबीलाई पढ्न निकै रुचि थियो। सर्लाहीको बलरामा पढ्न पठाउँदा धेरैले रोकेका थिए, तर मैले उसलाई रोकिनँ। आज तिनै आफन्तले बधाई दिँदा गर्व लाग्छ।”

अहिले पनि खेतमै व्यस्त रहने रेणुलाई ‘सांसद’ वा ‘उपसभामुख’ के हो भन्ने पूर्ण जानकारी छैन। छोरीसँग दिनमा एक–दुई पटक फोनमा कुरा हुन्छ। “उसले सबै ठिक छ भन्छे, हामीलाई विश्वास छ। तर आमाको मन हो, चिन्ता लागिहाल्छ,” उनी भावुक हुँदै भन्छिन्।
जस्तापाताको छानो भएको घरमा बस्दै आएका रुबीका भाइ शनि कुमार ठाकुरले हालै एसईई दिएका छन्। उनले दिदी उपसभामुख बनेको खबर फेसबुकबाटै थाहा पाए। साथीभाइले बधाई दिँदा उनी उत्साहित छन्। दिदीको सफलताले उनलाई पनि पढेर ठूलो मान्छे बन्ने सपना दिएको छ।

रुबीको सफलतालाई जनकपुरवासीले ‘मधेशकी छोरी’ को रूपमा उत्सवका रूपमा मनाइरहेका छन्। सामान्य परिवार र अभावका बीचबाट देशको उच्च राजनीतिक पदसम्म पुग्नु आफैँमा ठूलो प्रेरणा हो। मुजेलीयाको त्यो सानो घरले आज देशलाई सन्देश दिएको छ—सपना पूरा गर्न महल होइन, दृढ इच्छाशक्ति चाहिन्छ।
अब सम्पूर्ण धनुषावासीको एउटै अपेक्षा छ,यी युवा उपसभामुखले आफ्नो कार्यकाल सफल बनाउँदै देशभरका युवतीहरूका लागि प्रेरणाको स्रोत बनून्।
