२८ जेठ,जनकपुरधाम , (आशिष कुमार मंडल) : बिहीबार जनकपुरधाममा सामान्य आधा घण्टा परेको वर्षाले नै सिंगो ऐतिहासिक नगरी जलमग्न बनेपछि जनआक्रोश चुलिएको छ। मुख्य सडक देखि गल्ली–गल्लीसम्म पानी जमेको छ, यातायात प्रभावित भएको छ र सर्वसाधारणले ठूलो सास्ती भोग्नुपरेको छ।
वर्षेनी दोहोरिने यो समस्यापछि सामाजिक सञ्जालदेखि चोक,गल्ली सम्म एउटै प्रश्न उठ्ने गरेको छ,के जनकपुरको हरेक समस्याको दोष केवल मेयर मनोज साहलाई मात्र दिने हो ?
वास्तविकता हेर्ने हो भने डुबानको समस्या केवल नगर प्रमुखसँग मात्र जोडेर हेर्न मिल्दैन। स्थानीय तहको संरचनाअनुसार प्रत्येक वार्डभित्रको नाला, सडक, सरसफाइ र पानी निकास व्यवस्थापनको प्रत्यक्ष निगरानी तथा पहल गर्ने जिम्मेवारी सम्बन्धित वार्ड अध्यक्षहरूको पनि हो। तर धेरै वार्डमा नालाको नियमित सफाइ, अवरोध हटाउने काम र पानी निकासको प्रभावकारी व्यवस्थापन हुन नसक्दा वर्षाको केही बेरमै सडकहरू तालमा परिणत हुने गरेका छन्।
यसका साथै जनकपुरको डुबान समस्याको अर्को ठूलो कारण नाला तथा प्राकृतिक पानी निकासका मार्ग अतिक्रमण हुनु पनि हो। वर्षौंदेखि विभिन्न स्थानमा नाला च्यापेर, सार्वजनिक निकास क्षेत्र मिचेर तथा पानी बग्ने बाटो बन्द हुने गरी घर तथा संरचना निर्माण गरिएको गुनासो स्थानीयवासीले बारम्बार उठाउँदै आएका छन्। जब पानी बग्ने प्राकृतिक तथा कृत्रिम मार्ग नै अवरुद्ध हुन्छ, तब सामान्य वर्षाले पनि ठूलो डुबान निम्त्याउने विज्ञहरूको भनाइ छ।
यस्तो अवस्थामा प्रश्न उठ्छ,नाला मिचेर घर बनाउने व्यक्तिहरू, त्यस्ता संरचनालाई रोक्न नसक्ने सम्बन्धित निकाय र आफ्नो क्षेत्रको अवस्थाबारे समयमै चासो नदिने वार्ड नेतृत्वको जिम्मेवारी बारे किन चर्चा हुँदैन ?
नगर प्रमुखले नीति, योजना र बजेटको नेतृत्व गर्ने भए पनि प्रत्येक टोल, गल्ली र नालाको दैनिक अवस्था हेर्ने काम स्थानीय संरचनाकै हो। यदि नाला अतिक्रमण भइरहेको छ, पानी निकास बन्द छ वा सरसफाइ भइरहेको छैन भने त्यसबारे सम्बन्धित वार्ड तहबाट पहल हुनुपर्ने नागरिकहरूको तर्क छ।
जनकपुरको डुबान समस्या कुनै एक व्यक्तिको असफलता मात्र नभई वर्षौं देखिको अव्यवस्था, नाला अतिक्रमण, कमजोर अनुगमन र स्थानीय तहको निष्क्रियताको परिणाम भएको देखिन्छ। त्यसैले समस्याको समाधान खोज्ने हो भने मेयरलाई मात्र दोष दिएर होइन, वार्ड अध्यक्षहरूको भूमिका, नाला मिचेर संरचना बनाउने व्यक्तिहरूको जिम्मेवारी र समग्र नगर व्यवस्थापनको कमजोरीमाथि पनि गम्भीर समीक्षा हुन आवश्यक छ।
जनताले अब केवल दोषारोपण होइन, जिम्मेवार पक्षहरूको स्पष्ट जवाफदेहिता र दीर्घकालीन समाधान चाहेका छन्। जनकपुर हरेक वर्ष डुब्ने र पछि फेरि उही बहस दोहोरिने अवस्था अन्त्य गर्न सम्बन्धित सबै पक्षलाई नै उत्तरदायी बनाउनु आजको आवश्यकता हो।
