२८ जेठ,जनकपुरधाम , (आशिष कुमार मंडल) : जनकपुरधाम उपमहानगरपालिका भित्र दक्षिण एशियाली विकास बैंक (ADB) को वित्तीय सहयोगमा सञ्चालन हुन लागेको बहुप्रतीक्षित Urban Resilience and Livability Improvement Project (URLIP) अन्तर्गत स्तरोन्नति गरिने सडकहरूको अन्तिम सूची सार्वजनिक गरिएको छ। परियोजना अन्तर्गत करिब २ अर्ब १३ करोड रुपैयाँ लगानी हुने बताइएको छ भने पहिलो चरणमा मात्रै १ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढी खर्च हुने भएको छ।
उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह का अनुसार परियोजनाको ठेक्का प्रक्रियाका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान भइसकेको छ। बोलपत्र प्रक्रियाबाट निर्माण कम्पनी छनोट भएपछि सडक, नाला, फुटपाथ तथा अन्य शहरी पूर्वाधार निर्माणको काम सुरु हुनेछ।
कुन–कुन सडक बन्नेछन् ?
सार्वजनिक गरिएको सूचीअनुसार जनकपुरधामका विभिन्न वडामा रहेका २३ वटा सडक स्तरोन्नति तथा कालोपत्रे गरिनेछन्। कुल लम्बाइ २३.९६१ किलोमिटर सडक सुधार गर्ने योजना रहेको छ।
मुख्य सडकहरू:
| क्र.सं. | सडकको नाम | वडा नं. | लम्बाइ (कि.मी.) |
|---|---|---|---|
| १ | भरमरपुरा चोक–रेलवे क्रसिङ सडक | ७, ८ | २.४०० |
| २ | रामानन्द चोक–रेलवे क्रसिङ सडक | ८ | १.२०० |
| ३ | ६ लेन (एपान टिभी)–परिक्रमा सडक हुँदै मुसहरी टोल | ७, ८ | १.९२० |
| ४ | आँखा अस्पताल–रतन चोक सडक | ८ | ०.९०० |
| ५ | रतन चोक–कबाड हल–मणिमण्डप सडक | १३, १४ | १.६०० |
| ६ | यात्री निवास सडक | ८ | ०.१६० |
| ७ | बशिष्ठ सभा गृह–हनुमान मन्दिर–उत्तर बस्पिटी टोल सडक | २२ | १.२७० |
| ८ | ६ लेन–कभर्ड हल सडक | १३ | ०.७६० |
| ९ | ६ लेन–मुजेली प्रादेशिक प्रयोगशाला सडक | १४ | ०.४४० |
| १० | अशोक गाछी–मा.वि.–कुवा रामपुर सडक | १२, १५ | १.७०० |
| ११ | मोनास्टिक स्कुल पूर्व–जलाद नदी सडक | २ | ०.४६० |
| १२ | हुलाकी सडक (सल्हेश चोक)–महादेव मन्दिर (कपिलेश्वर)–रेलवे ट्र्याक सडक | १६ | १.२५० |
| १३ | लक्ष्मण चोक–स्टेडियम रोड–जलाद नदी सडक | १४ | ०.८७० |
| १४ | मलंग बाबा–जलाद नदी सडक | १६ | ०.४६० |
| १५ | मुरली चोक (तरकारी बजार) देखि वडा नं. ४ र १२ को सिमाना सडकसम्म | ४ | ०.६०० |
| १६ | नापी कार्यालय सडक | ४ | ०.८०० |
| १७ | एनईबी कार्यालय–मणिमण्डप सडक | १४ | १.२०० |
| १८ | पगला बाबा रोड पूर्व–जानकी नगर–परिक्रमा सडक | ७ | ०.४६० |
| १९ | सिक्स लेन अग्नि डिपो–वडा नं. १४ कार्यालय–देहवार स्थान मन्दिर सडक | १४ | ०.२८७ |
| २० | सिक्स लेन समर अस्पताल–रजौल चोक सडक | १४ | ०.२३० |
| २१ | आर.आर. क्याम्पस पूर्व पीपल बोट–जलाद नदी–कपिलेश्वर मुख्य सडक | १२ | ०.७२४ |
| २२ | मिल्स एरिया–बेंगा रोड | १, १९ | २.९०० |
| २३ | सीता चोक–पुलचोक सडक | १ | १.३७० |
परियोजना अन्तर्गत सडक मात्रै होइन, नाला र फुटपाथ पनि सौन्दर्यीकरण गरिने योजना रहेको छ:
✅ २३.९ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति
✅ ९.६ किलोमिटर आधुनिक नाला निर्माण
✅ खानेपानी पाइप व्यवस्थापन
✅ विद्युत् पोल पुनःव्यवस्थापन
✅ फुटपाथ तथा सडक
गुणस्तरीय र दिगो पूर्वाधारमा जोड
परियोजनाको प्राविधिक पक्ष हेर्दै आएकी जनकपुरधाम उपमहानगरपालिकाकी इन्जिनियर सोनाली ठाकुरले यो योजना केवल सडक निर्माणमा सीमित नरहेको बताइन्।
उनले भनिन्, “यो परियोजना जनकपुरधामको समग्र शहरी विकाससँग जोडिएको छ। सडकसँगै आधुनिक ड्रेनेज प्रणाली, फुटपाथ, खानेपानी पाइपलाइन व्यवस्थापन तथा विद्युत् संरचनाको सुधार गरिने भएकाले दीर्घकालीन रूपमा नगरवासीले प्रत्यक्ष लाभ पाउनेछन्। गुणस्तरीय निर्माण र निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्न प्राविधिक टोली प्रतिबद्ध छ।”
उनका अनुसार निर्माणको क्रममा प्राविधिक मापदण्डलाई कडाइका साथ पालना गरिनेछ र स्थानीय समुदायसँगको समन्वयलाई पनि प्राथमिकता दिइनेछ।
पर्यटन र व्यापारलाई टेवा पुग्ने अपेक्षा
जनकपुरधाम धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख केन्द्र भएकाले आधुनिक सडक, व्यवस्थित ड्रेनेज प्रणाली तथा आकर्षक सार्वजनिक पूर्वाधार निर्माणपछि शहरको स्वरूपमा उल्लेखनीय परिवर्तन आउने अपेक्षा गरिएको छ।
विशेषगरी जानकी मन्दिर, राम–जानकी विवाह मण्डप, विभिन्न धार्मिक पोखरी तथा प्रमुख पर्यटकीय स्थलसम्मको पहुँच सहज बन्ने विश्वास गरिएको छ। यसबाट आन्तरिक तथा बाह्य पर्यटकको बसाइ अवधि बढ्नुका साथै स्थानीय व्यापार, होटल तथा सेवा क्षेत्रलाई समेत प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।
सन् २०२६ भित्र काम सम्पन्न गर्ने लक्ष्य
ADB समर्थित URLIP परियोजना अन्तर्गत सडक, नाला, फुटपाथ तथा शहरी पूर्वाधार निर्माणको काम सन् २०२६ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। नगरवासीले लामो समयदेखि भोग्दै आएको सडक, जलनिकास तथा अव्यवस्थित शहरी पूर्वाधारको समस्या समाधानमा यो परियोजना कोशेढुंगा सावित हुन सक्ने अपेक्षा गरिएको छ।
परियोजना सफल कार्यान्वयन भएमा जनकपुरधामको शहरी स्वरूप, यातायात सुविधा, पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधिमा नयाँ गति थपिने स्थानीयवासीको विश्वास रहेको छ।
