२६ चैत,काठमाडौं । नेपाल नगरपालिका संघको ३३औँ वार्षिक उत्सवको अवसरमा मटिहानी नगरपालिकालाई सामाजिक विकास क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै ‘सामाजिक विकासतर्फ उत्कृष्ट नगरपालिका’ सम्मान प्रदान गरिएको छ।
काठमाडौंमा आयोजित विशेष समारोहमा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डललाई उक्त सम्मान प्रदान गरेका हुन्।

नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाका अनुसार मटिहानी नगरपालिकाले शिक्षा, स्वास्थ्य, महिला शक्तीकरण, बालअधिकार संरक्षण तथा सामाजिक समावेशीकरणका क्षेत्रमा प्रभावकारी कार्य गरेकाले उक्त सम्मान प्रदान गरिएको हो। उनले स्थानीय तहले समुदाय केन्द्रित सेवा तथा कार्यक्रममार्फत उल्लेखनीय उपलब्धि हासिल गरेको पनि बताए।
संघले देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी २९३ स्थानीय तहहरू मध्ये विभिन्न पाँच विधामा उत्कृष्ट कार्य गर्ने सात वटा पालिकालाई यस वर्ष पुरस्कृत गरेको जनाएको छ।

यसअनुसार सामाजिक विकासतर्फ मटिहानी नगरपालिका, सहरी योजना तथा पूर्वाधार विकासतर्फ पोखरा महानगरपालिका र बुढानिलकण्ठ नगरपालिका, वातावरण, संस्कृति तथा पर्यटनतर्फ गोदावरी नगरपालिका र इलाम नगरपालिका पुरस्कृत भएका छन्।
यस्तै स्थानीय आर्थिक विकासतर्फ मन्थली नगरपालिका (रामेछाप) तथा संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनतर्फ हलेसी तुवाचुङ नगरपालिकालाई उत्कृष्ट घोषणा गर्दै पुरस्कार प्रदान गरिएको छ।

