२७ चैत,काठमाडौं । आगामी वैशाख २५ गते (मे ८) देखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘मालती मंगले’ को आधिकारिक टिजर सार्वजनिक गरिएको छ। गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको यस फिल्मको टिजरले ग्रामीण परिवेशमा आधारित मार्मिक प्रेमकथाको झल्को प्रस्तुत गरेको छ।
केही वर्षअघिको गाउँले समाजलाई पृष्ठभूमि बनाएर तयार पारिएको टिजरमा प्रेम, विश्वास र शङ्काका विभिन्न आयामहरूलाई कलात्मक ढङ्गले देखाइएको छ। ओएसआर डिजिटल मार्फत सार्वजनिक टिजरमा विजय बराल र वर्षा राउत बीचको भेट देखि विवाह सम्मको यात्रा चित्रण गरिएको छ।
एक दृश्यमा विजयले वर्षासँग “मेरो कारणले जुन दिन तिम्रो आँखामा आँसु आउँछ, त्यो दिन मंगले मरेसरह हुन्छ” भन्ने भावनात्मक वाचा गरेको देखिन्छ।तर विवाहपछिको जीवन भने सहज देखिँदैन। टिजरको उत्तरार्धमा गाउँलेहरूको अगाडि विजयले वर्षालाई कुटपिट गर्दै “तैँले मलाई धोका दिइस्” भन्दै आक्रोश व्यक्त गरेको दृश्य समावेश छ, जसमा मालती (वर्षा) अचम्मित र भावुक मुद्रामा देखिन्छिन्।

अर्का कलाकार मेक्सम गौडेलको कडा संवादले कथामा द्वन्द्वको सङ्केत गर्छ भने अन्त्यतिर केही रोमान्टिक दृश्यहरू पनि समेटिएका छन्।प्रकु पाण्डेयको निर्देशनमा बनेको यो चलचित्र रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको हो। कथा निर्देशक स्वयं पाण्डेयले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँको रहेको छ।
यसअघि ‘सुनैको सपनी’ र ‘ढुङ्गा माथि लेऊ’ गीत सार्वजनिक भइसकेका छन्।निर्माता ढकालका अनुसार यो फिल्म राष्ट्रकवि माधव प्रसाद घिमिरेको गीतिनाटक नभई समकालीन नेपाली समाजमा आधारित फरक साङ्गीतिक प्रेमकथा हो।
चलचित्रमा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल सहित नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराईको अभिनय रहेको छ।
कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने सह–निर्मातामा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ रहेका छन्।
प्राविधिक पक्ष तर्फ महेश पौडेलको छायाङ्कन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ। गीतमा हर्क साउदको शब्द, एसडी योगीको सङ्गीत र रिकेश गुरुङको एरेन्ज रहेको छ भने कोरियोग्राफी रोशन बिकले गरेका छन्। चलचित्र आरआर फिल्म्सले वितरण गर्नेछ।
