३० वैशाख,काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले सत्तारुढ दलहरूले संसदलाई आफ्नो अनुकूलतामा मनपरी ढंगले सञ्चालन गरिरहेको गम्भीर आरोप लगाउनुभएको छ। बुधबारको प्रतिनिधि सभा बैठक बहिष्कार गरी बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर जवाफ दिनुको साटो पन्छिरहेको भन्दै कडा असन्तुष्टि व्यक्त गर्नुभयो।
प्रधानमन्त्रीले आफैँ टेबल गर्नुपर्ने विषयहरू अन्य व्यक्तिमार्फत पठाएर संसद्को गरिमा र उत्तरदायित्वलाई कमजोर बनाएको उहाँको तर्क थियो।अध्यक्ष साम्पाङले संसदको कार्यशैलीप्रति टिप्पणी गर्दै सांसदहरूलाई पर्याप्त समय नदिई ‘ठेलीका ठेली’ अध्ययन सामग्री थमाइदिने र भोलिपल्टै तयारी गरेर आउन दबाब दिने प्रवृत्ति उचित नभएको बताउनुभयो।
सरकारको नीति तथा कार्यक्रम जस्तो महत्वपूर्ण विषयमा गम्भीर र अर्थपूर्ण बहस हुनुपर्नेमा त्यसलाई केवल औपचारिकतामा मात्र सीमित गरिएकोमा उहाँले आपत्ति जनाउनुभयो। पर्याप्त छलफल र बहसको वातावरण नभएकै कारण आफूले बैठक बहिष्कार गर्नुपरेको उहाँले स्पष्ट पार्नुभयो।
सोही अवसरमा साम्पाङले आफ्नो पार्टी ‘श्रम संस्कृति पार्टी’ लाई कसैले कमजोर ठान्ने वा हेप्ने प्रयास नगर्न चेतावनी समेत दिनुभयो। नयाँ भए पनि आफ्नो पार्टीले संसदमा जनताका मुद्दाहरूलाई सशक्त र प्रभावकारी रूपमा उठाउने दाबी गर्दै उहाँले आगामी दिनमा सरकारका गलत क्रियाकलापको विरोध गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
