३० चैत्र,रौतहट,(दिपेश पौडेल) : नेपाल–भारत सीमा क्षेत्रमा पछिल्लो समय बढाइएको सुरक्षा कडाइको असर सीमावर्ती नेपाली नागरिकको दैनिक जीवनमा देखिन थालेको छ। नेपालतर्फ भारतीय सवारीसाधन माथि निगरानी कडा गरिएपछि त्यसको प्रतिक्रिया स्वरूप भारततर्फ पनि नेपाली सवारीलाई इन्धन दिन रोक लगाइएको छ।
भारतको वैरगनिया नजिक नन्दबारा क्षेत्रका पेट्रोल पम्पहरूले ‘नेपाली नम्बर प्लेट भएका सवारीलाई पेट्रोल नदिइने’ सूचना सार्वजनिक गरेका छन्। यसले वर्षौंदेखि सहज रूपमा चल्दै आएको सीमापार आवतजावत र किनमेलमा अवरोध सिर्जना गरेको छ।
गौरका स्थानीय शिवशंकर मिश्राका अनुसार, पहिले सीमापार गएर इन्धन र दैनिक उपभोग्य सामग्री ल्याउन सजिलो थियो। तर अहिले नेपाली सवारीलाई इन्धन दिन अस्वीकार गरिनुले दुई देशबीचको ‘रोटी–बेटी’ सम्बन्धमै नकारात्मक असर परेको उनले बताए। आगामी दिनमा अन्य वस्तुमा पनि यस्तै प्रतिबन्ध आउन सक्ने उनको आशंका छ।

दुर्गा भगवती गाउँपालिका–१ का एक स्थानीयले भोगेको समस्या झनै गम्भीर छ। भारतबाट आफन्त लिएर फर्कंदा बाटोमै पेट्रोल सकिएपछि नजिकैको पम्पमा जाँदा नेपाली नम्बर प्लेटकै कारण इन्धन नपाएको उनले बताए। अन्ततः मोटरसाइकल धकेल्दै बजारसम्म पुगेर बोतलमा तेल किनेर यात्रा पूरा गर्नुपरेको उनको भनाइ छ।
विश्लेषकहरूका अनुसार, नेपाल र भारतबीचको इन्धन मूल्य अन्तर पनि यस निर्णयको एउटा कारण हुन सक्छ। भारतमा पेट्रोल नेपालको तुलनामा झण्डै ५० रुपैयाँ प्रतिलिटर सस्तो भएकाले तस्करी नियन्त्रण र आन्तरिक आपूर्ति सुरक्षित राख्न भारतले यस्तो कदम चालेको हुनसक्ने अनुमान गरिएको छ।
यता नेपालले भारतीय सवारीसाधन माथि भन्सार तथा प्रवेशमा कडाइ गरेपछि त्यसको ‘काउन्टर’ रूपमा भारतले यस्तो व्यवहार अपनाएको स्थानीयको दाबी छ। वैरगनियाका एक पत्रकार राजकपुरका अनुसार सीमावर्ती व्यापार नेपाली ग्राहकमा निर्भर रहेकाले यस्तो अवस्थाले दुवै पक्षलाई नोक्सान पुर्याउने देखिन्छ। उनले समस्या समाधानका लागि दुई देशबीच कूटनीतिक पहल आवश्यक रहेको बताएका छन्।
समग्रमा, सीमा नीतिमा आएको परिवर्तन र समन्वय अभावका कारण विशेषगरी मधेश प्रदेशका सीमावर्ती नागरिकहरू सबैभन्दा बढी प्रभावित भएका छन्।
