३० चैत्र,काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा भिडियो सन्देश मार्फत देशको वर्तमान राजनीतिक अवस्था प्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले प्रतिशोध र निषेधको राजनीति त्यागेर राष्ट्रलाई केन्द्रमा राखी अघि बढ्न सबै पक्षलाई आग्रह गरेका छन्।
उनले देशमा देखिएका असन्तुष्टि र विभिन्न मागहरूलाई संवाद, सहमति र सहकार्यबाट समाधान गर्नु पर्नेमा जोड दिएका छन्। ‘जनचाहनालाई मनन गर्दै संवैधानिक समाधान खोज्न अब ढिलाइ गर्नु हुँदैन,’ उनले भनेका छन्, ‘राग, द्वेष र प्रतिशोधले राष्ट्रको हित गर्दैन।’
विगतका राजनीतिक तथा शासकीय परिवर्तनबारे टिप्पणी गर्दै उनले नेपाल केवल ‘प्रयोगशाला’ बनेको उल्लेख गरेका छन्। विधि र व्यक्ति परिवर्तन भए पनि समग्र अवस्था सुधारिन नसकेको उनको निष्कर्ष छ। ‘हामी धेरै दौडियौँ, तर राष्ट्रको विकासमा पछाडि पर्यौँ,’ उनले भने।
यद्यपि, उनले युवापुस्ता प्रति आशा व्यक्त गरेका छन्। राजनीति र राज्य सञ्चालनमा शिक्षित, प्रविधिमैत्री र आधुनिक सोच भएका युवाहरूको बढ्दो सहभागिताले देशलाई सकारात्मक दिशामा लैजाने विश्वास उनले व्यक्त गरे।
नयाँ वर्षको शुभकामना दिँदै उनले अबको मार्ग द्वन्द्व होइन, एकता र साझा संकल्प हुनुपर्ने सन्देश दिएका छन्।
