पीएम कप २०२६ को पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएपछि नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हासिल गर्ने क्रममा बिहीबार बागमती प्रदेशलाई पराजित गरेको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबले २६६ रनको लक्ष्य ४४ ओभरमा पूरा गर्यो । पुलिसको जितमा आजपनि दिनेश खरेलको अलराउन्ड प्रदर्शन रह्यो ।
पहिलो जितमा पनि शानदार प्रदर्शन गरेका दिनेशले आजको खेलमा पनि त्यही लयलाई निरन्तरता दिए । उनीसँगै ओपनिङमा आएका शंकर रानाको प्रदर्शन अझ विशेष रह्यो । किनभने उनले पुलिसको जितमा शतक प्रहार गरे ।
मिडल अर्डरमा खेल्ने शंकर आजको खेलमा ओपनिङमा पठाइएका थिए । फरक भूमिकामा दिइएको उक्त जिम्मेवारी पूरा गर्दै उनले दिनेशसँग मिलेर संयमित सुरुवात गर्दै इनिङ ठूलो बनाए र म्याच विनिङ शतक प्रहार गरे ।
