२४ वैशाख,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समाचार लेखेकै आधारमा पत्रकारहरू असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा आयोजित पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार संकलन तथा सम्प्रेषण गर्ने अवस्थाको सुनिश्चितताका लागि सरोकारवाला सबैको ध्यान जान आवश्यक रहेको बताउनुभयो।
नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनहरूमा पत्रकारिता जगत्ले खेलेको भूमिका उल्लेखनीय रहेको स्मरण गर्दै उहाँले जिम्मेवार प्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो।सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको उल्लेख गर्दै पत्रकारलाई निर्भय र स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको स्पष्ट पार्नुभयो।

उहाँले स्वतन्त्र र निष्पक्ष पत्रकारिताविना लोकतन्त्रको कल्पना गर्न नसकिने बताउँदै सत्यतथ्य समाचारमार्फत जनतालाई सुसूचित गर्नु नै जिम्मेवार प्रेसको मुख्य धर्म भएको उल्लेख गर्नुभयो। पत्रकारितालाई परिवर्तनको वाहक र राष्ट्र निर्माणको सशक्त माध्यमका रूपमा अथ्र्याउँदै उहाँले श्रमजीवी पत्रकारहरूको हकहित र सञ्चार गृहहरूको आर्थिक दिगोपनका लागि सरकार र निजी क्षेत्रबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो।
वर्तमान समयमा सूचना प्रविधिको विकाससँगै बढ्दो सामाजिक सञ्जाल र नागरिक पत्रकारिताका कारण आधारहीन र मिथ्या सूचना फैलिने खतरा बढेको प्रति राष्ट्रपतिले चासो व्यक्त गर्नुभयो। यस्ता भ्रमपूर्ण सूचनाबाट जनतालाई दिग्भ्रमित हुन नदिनु अहिलेको आमसञ्चार माध्यमका लागि प्रमुख चुनौती रहेको र यसको सामना गर्न नेपाली प्रेस सक्षम हुनेमा उहाँले विश्वास प्रकट गर्नुभयो।

दशकौंदेखि कलमका माध्यमबाट समाजलाई मार्गनिर्देश गर्ने पत्रकारहरूको योगदानको कदरस्वरूप राज्यले सम्मान प्रदान गरेको उहाँको भनाइ थियो।सो अवसरमा राष्ट्रपति पौडेलले वरिष्ठ पत्रकार सम्मानबाट चन्द्रकिशोर झा र नम्रता शर्मालाई सम्मानित गर्नुभयो।
त्यसैगरी, भोला पासवान, उमेश श्रेष्ठ र रुपा गहतराजलाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरियो। पुरस्कृत पत्रकारहरूको व्यावसायिक निष्ठाले नयाँ पुस्तालाई सधैं सत्य र न्यायको मार्गमा लागिरहन उत्प्रेरित गर्ने विश्वास राष्ट्रपतिले व्यक्त गर्नुभयो।
