२६ चैत,सिरहा।सिरहा नगरपालिकाका प्रमुख (मेयर) नवीन कुमार यादव विरुद्ध कार्यालय सहयोगी माथि कुटपिट गरेको गम्भीर आरोपमा पक्राउ पुर्जी जारी गरिएको छ। नगरपालिकामा कार्यरत ५० वर्षीय कार्यालय सहयोगी रामशरण यादवलाई कार्यकक्षमै हातपात गरेको घटना सार्वजनिक भए पछि प्रहरीले मेयर यादव विरुद्ध कानुनी प्रक्रिया अगाडि बढाएको हो।
घटना विवरण अनुसार, गत सोमबार बिहान करिब ९ बजे कार्यालयमा हाजिरी लगाउने क्रममा मेयर यादवले सहयोगी रामशरण माथि एक्कासि गालीगलौज गर्दै लात र मुक्का प्रहार गरेका थिए। मेयरको आक्रमणबाट गम्भीर घाइते भएका रामशरणको शरीरका विभिन्न भागमा चोट लाग्नुका साथै हड्डी समेत भाँचिएको बताइएको छ।
पीडितको हाल विराटनगर स्थित एक अस्पतालमा उपचार भइरहेको छ।पीडित पक्षले दिएको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय सिरहाबाट पक्राउ अनुमति लिई मेयर यादवविरुद्ध ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा दर्ता गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार पक्राउ पुर्जी जारी भएसँगै मेयरको खोजी कार्यलाई तीव्र पारिएको छ। सोही कुटपिटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले नगरपालिकाका अर्का कर्मचारी रोहित मेस्तरलाई भने यस अघि नै नियन्त्रणमा लिइसकेको छ।
