१७ जेठ, काठमाडौँ : करिब दुई दशकदेखि शास्त्रीय संगीतको साधना र साधनामा तल्लीन गायिका तेजवती जोशीको स्वरमा सजिएको नयाँ गीत ‘नेपालकी छोरी’ को आकर्षक भिडियो सार्वजनिक भएको छ। कुमार मिश्रका मार्मिक शब्द र टेकेन्द्र नेपालीको सुमधुर संगीत रहेको यस गीतको भिडियोमा लोकप्रिय एवं सुन्दरी मोडल गीता ढुंगानाको अब्बल र जीवन्त अभिनय देख्न सकिन्छ।
भिडियोमा दुई चुल्ठी बाटेर परम्परागत नेपाली अवतारमा प्रस्तुत भएकी गीता निकै खुलेकी छिन् भने उनको प्रस्तुतिले दर्शकको मन लोभ्याउने निश्चित छ।विशेषगरी देशप्रेमको भावना, ठूलालाई आदर-आशीर्वाद र सानालाई माया गर्ने पवित्र नेपाली संस्कारलाई समेटिएको यस गीत र भिडियोले समाजमा सकारात्मक सोच भर्ने काम गरेको छ।

गीतका माध्यमबाट गीतकार र गायिकाले नेपाली छोरीको स्वाभिमान, साहस र कहिल्यै शिर नझुक्ने मौलिक नेपाली पारालाई निकै सुन्दर ढंगले उजागर गरेका छन्। योगेन्द्र राजकर्णीकारको निर्माणमा तयार भएको यस गीतमा रिदम कँडेलको एरेन्ज तथा साजन शाहको मिक्सिङ र मास्टरिङ रहेको छ।
कलात्मक ढंगले तयार पारिएको यस भिडियोको निर्देशन निर्देशक जिबी आग्रीले गरेका हुन्। थम्मन टाडीको आकर्षक कोरियोग्राफी, उत्सब दाहालको सुन्दर छायांकन र सिलन लम्सालको चुस्त सम्पादन रहेको यो भिडियो ओएसआर डिजिटलको आधिकारिक माध्यमबाट बजारमा आएको हो।
यसअघि पनि नेपाली र नेवारी भाषामा थुप्रै लोकप्रिय गीतहरू स्रोतामाझ ल्याइसकेकी गायिका तेजवती र संगीतकार टेकेन्द्रको टोलीले यसभन्दा अगाडि ‘चुम्बक’ र ‘हजार जुनी’ सहित चारवटा गीतहरूमा सफल सहकार्य गरिसकेका छन्।
