१० जेठ : जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरका उत्तराधिकारी छोटे महन्त रामरोशन दास वैष्णवले नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटीको कार्यशैली माथि गम्भीर प्रश्न उठाएका छन्। आइतबार जानकी मन्दिरमै एक पत्रकार सम्मेलनको आयोजना गर्दै उनले ब्यूरोको ढिलासुस्ती र उदासिनता प्रति कडा असन्तुष्टि व्यक्त गरेका हुन्।
करिब सात महिना अघि २०८२ साल कार्तिक ९ गते नै साइबर ब्यूरोको कार्यालयमा पुगेर लिखित उजुरी दर्ता गराए तापनि हालसम्म दोषीमाथि कुनै कारवाही नभएको र पीडितले न्याय नपाएको उनले गुनासो गरे।विगत एक वर्षदेखि कसैले जानकी मन्दिरको नाममा र अर्को उनको व्यक्तिगत नाममा नक्कली (फेक) फेसबुक प्रोफाइल बनाएर मन्दिर तथा उनको छवि धुमिल पार्ने खालका भ्रामक सामग्री र स्टाटसहरू निरन्तर पोस्ट गर्दै आएको छ।

यसरी आफ्नो चरित्र हत्या हुने कार्य भएपछि महन्त दासले सुरुमा जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएका थिए भने पछि काठमाडौँको भोटाहिटी स्थित केन्द्रीय साइबर ब्यूरोमै पुगेर कानुनी प्रक्रिया अघि बढाएका थिए। तर, उजुरी दिएको लामो समय बितिसक्दा पनि ती नक्कली प्रोफाइलहरू अझै बन्द भएका छैनन् भने अपराधमा संलग्न व्यक्ति समेत पक्राउ पर्न सकेको छैन।
यस्ता अमर्यादित पोस्टहरूले मन्दिरको गरिमा र लाखौँ श्रद्धालुहरूको धार्मिक आस्थामा गम्भीर आघात पुऱ्याइरहेको महन्त दासले बताए। सो नक्कली प्रोफाइलबाट विशेष गरी महिलाहरूलाई तारन्तार साथी बन्ने अनुरोध (फ्रेन्ड रिक्वेस्ट) पठाउने गरिएको र निरन्तरको चरित्र हत्याका कारण आफू चरम मानसिक तनावको सिकार हुनुपरेको उनले दुखद वास्तविकता सुनाए।

अन्त्यमा, महन्त दासले पत्रकार सम्मेलन मार्फत आम सर्वसाधारण तथा श्रद्धालुहरूलाई त्यस्ता शङ्कास्पद फेक प्रोफाइलबाट फ्रेन्ड रिक्वेस्ट आएमा स्वीकार नगर्न र तत्काल ब्लक तथा रिपोर्ट गर्न अपिल गरेका छन्। साथै, उनले राज्यको जिम्मेवार निकाय साइबर ब्यूरोलाई तत्काल ती फेक अकाउन्टहरू बन्द गराई अपराधीलाई कानुनी दायरामा ल्याउन जोडदार माग समेत गरेका छन्।
