२ जेठ,काठमाडौँ : नेपालको सूचना प्रविधि क्षेत्रमा खड्किएको दक्ष जनशक्तिको अभावलाई पूर्ति गर्ने उद्देश्यका साथ टेकपाइला इन्नोभेसनले औपचारिक रूपमा आफ्नो सेवा सुरु गरेको छ। कम्पनीले बेलायतको प्रतिष्ठित एनसीसी एजुकेसन युके (NCC Education UK) सँग साझेदारी गर्दै नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको साइबर सुरक्षा, आर्टिफिसियल इन्टेलिजेन्स (AI) र डाटा साइन्सका कोर्सहरू भित्र्याएको हो।
विशेष गरी कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गरी ल्याइएका यी कोर्सहरूले नेपाली विद्यार्थीहरूलाई विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने विश्वास लिइएको छ। २ वर्ष अवधिको यो कोर्स पूरा गरे पछि विद्यार्थीहरूले सिधै एनसीसी युकेबाटै ५० भन्दा बढी देशहरूमा मान्यता प्राप्त प्रमाणपत्र पाउनेछन्, जसले उनीहरूको उच्च शिक्षा र वैदेशिक अध्ययनको बाटोलाई समेत सहज बनाउनेछ।

यस शैक्षिक कार्यक्रमको सबैभन्दा सबल पक्ष भनेको माध्यमिक विद्यालय तथा शैक्षिक संस्थाहरूले कुनै पनि अतिरिक्त लगानी बिना नै यी विश्वस्तरीय कोर्सहरू आफ्नो पाठ्यक्रममा समावेश गर्न सक्नेछन्। विद्यालयहरूलाई आवश्यक पर्ने प्रमाणित प्रशिक्षक (Certified Trainers) र आधुनिक डिजिटल लर्निङ प्लेटफर्म (LMS) टेकपाइला आफैँले उपलब्ध गराउनेछ।
टेकपाइलाका अध्यक्ष राजेन्द्र मल्लले आईटी र एआई शिक्षालाई सरकारले राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्। नेपाललाई दक्षिण एसियाकै आईटी हब बनाउन सकिने सम्भावना औंल्याउँदै उनले नेपालमा सूचना प्रविधि र एआई सेवाको बजार द्रुत गतिमा बढिरहेको बताए।

सन् २०२३ मा ७० अर्ब रुपैयाँ बराबर रहेको नेपालको आईटी क्षेत्रको व्यवसाय अहिले बढेर १ सय ४० अर्ब रुपैयाँ पुगिसकेको जानकारी दिँदै उनले यो क्षेत्र नेपालको जलविद्युत भन्दा पनि छिटो आम्दानी गर्न सकिने सम्भावना बोकेको क्षेत्र भएको दाबी गरे। देश भित्रै गुणस्तरीय प्राविधिक शिक्षा उपलब्ध गराउँदा युवा जनशक्ति सस्तोमा विदेशिने क्रम रोकिने र यसको पहुँच सहरी क्षेत्रमा मात्र सीमित नभएर ग्रामीण भेगका विद्यार्थीहरूसम्म पनि पुर्याउनुपर्ने उनको भनाइ थियो।
