२७ वैशाख,काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो साङ्गठनिक संरचनालाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यका साथ विभिन्न विभाग तथा प्रदेश तहमा नयाँ नेतृत्व चयन गरेको छ। वनस्थली स्थित केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले शिक्षा, उद्यमशीलता र परिचालनका क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको हो।
यस प्रक्रियाअन्तर्गत पार्टीले शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई नियुक्त गरेको छ। पाण्डेलाई विशेषगरी शिक्षा क्षेत्रका नीतिगत सुधार, कार्यक्रम तर्जुमा र संगठनात्मक गतिविधिलाई अगाडि बढाउने जिम्मेवारी दिइएको छ। त्यसैगरी, युवाहरूमाझ नवप्रवर्तन र उद्यमशीलतालाई संस्थागत रूपमा प्रवर्धन गर्न डा. प्रभात अधिकारीलाई स्टार्ट–अप विभागको नेतृत्व सुम्पिएको छ।
पार्टीको आन्तरिक व्यवस्थापन र द्रुत परिचालनका लागि गठन गरिएको ¥यापिड एक्सन टिम (आरएटी) को केन्द्रीय प्रमुखमा मकवानपुरका बैकुण्ठ थापा (आशिष) र उप–प्रमुखमा सशस्त्र प्रहरी बलका पूर्व डीआईजी विदुर खड्कालाई मनोनयन गरिएको छ। यस टोलीले पार्टीका विभिन्न गतिविधिमा आवश्यक समन्वय र परिचालनको कार्यभार सम्हाल्नेछ।
यस्तै, सचिवालय बैठकले कर्णाली प्रदेशको संगठनलाई थप चलायमान बनाउन राजबहादुर साह र अविसरा सुवेदीलाई सह–महामन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको छ। प्रवक्ता मनिष झाका अनुसार विभागीय संरचनाको सुदृढीकरण र प्रदेश तहमा समन्वयकारी भूमिका बढाउन यी नयाँ नियुक्तिहरू गरिएको हो।
