२७ वैशाख : काठमाडौं उपत्यकामा बढ्दो सवारी चाप र सडक सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले कडा निगरानी सुरु गरेको छ। प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार बैशाख महिनामा मात्रै अत्यन्तै लापरबाहीपूर्ण तरिकाले सवारी साधन चलाउने ३१ जना चालकको अनुमति पत्र (लाइसेन्स) निलम्बनका लागि यातायात कार्यालयमा सिफारिस गरिएको छ।
यसरी निलम्बनमा पर्नेहरूमा पटक-पटक मापसे (मादक पदार्थ सेवन) र लापसे (लागू पदार्थ सेवन) गरी सवारी चलाउने तथा १५ देखि २० पटक सम्म ट्राफिक नियम उल्लंघन गर्ने चालकहरू रहेका छन्।पछिल्लो समय ट्राफिक प्रहरीले सडक व्यवस्थापनका साथै आफ्नो व्यवहारमा पनि सुधार ल्याउन विभिन्न ‘चेन्जिङ पावर’ जस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको अधिकारीले स्पष्ट पारे।

चोरीका मोटरसाइकल नियन्त्रण, सडक प्रयोगकर्ताका गुनासो सम्बोधन र अव्यवस्थित पार्किङ हटाउन प्रहरी सक्रिय रूपमा लागेको छ। विशेषगरी लामो तथा मझौला दुरीका सवारी साधनहरू अब अनिवार्य रूपमा बसपार्कबाटै छुट्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गरिएको छ। विगतका आन्दोलनका क्रममा क्षति पुगेका ३७ वटा ट्राफिक कार्यालयहरूको पुनर्निर्माण भएसँगै प्रहरीको उपस्थिति र कारबाही प्रक्रिया अझ सशक्त बनेको छ।
काठमाडौंको ट्राफिक अवस्थाबारे जानकारी दिँदै प्रहरी उपरीक्षक नरेश राज सुवेदीले उपत्यकाको झण्डै ५० लाख जनसंख्या र दैनिक सडकमा गुड्ने १८ लाख भन्दा बढी सवारी साधनको चापलाई व्यवस्थापन गर्न ट्राफिक प्रहरी २४सै घण्टा सडकमा खटिरहेको बताए। सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रविधिको प्रयोग बढाइएको र ट्राफिक ट्रायल सेन्टरहरूको समेत नियमित अनुगमन भइरहेको छ।

हाल सरकारी निकायहरूबाट प्राप्त थप सहयोगसँगै ट्राफिक प्रहरीसँग १२४ वटा सवारी साधनहरू सञ्चालनमा रहेका छन्, जसले गस्ती र सुरक्षा व्यवस्थापनलाई थप चुस्त बनाउन मद्दत पुगेको छ।
