जनकपुर । तराई–मधेश क्षेत्रमा आज परम्परागत रूपमा माटो खेलेर जुडशितल पर्व मनाइँदै छ। वैशाख २ गते मनाइने यस पर्वमा ठूला–बडाले सानाको टाउकोमा शीतल जल हालेर आशीर्वाद दिने र आपसमा माटो खेल्ने चलन रहेको छ।
यो दिनदेखि गर्मी बढ्ने विश्वास गरिन्छ। माटोले शरीरलाई चिसोपन दिनुका साथै स्वास्थ्यका लागि लाभदायक हुने जनविश्वासका कारण पनि माटो खेल्ने परम्परा रहँदै आएको छ। जनकपुरधाम मा यस पर्वलाई विशेष उत्सवका रूपमा मनाइन्छ। यहाँका पोखरी, तालतलैयामा स्थानीयहरू भेला भई एक–अर्कालाई माटो दल्दै शुभकामना आदानप्रदान गर्छन्।

यसै क्रममा प्रतिनिधिसभा सदस्य तथा रास्वपाका प्रवक्ता मनिष झाले पनि अरगज्जा पोखरी को डिलमा सहभागी भई माटो खेलेका छन्। स्थानीय तथा विशिष्ट व्यक्तिहरूको उपस्थितिमा उनले मिथिलाका परम्परा र पर्वहरू प्रकृतिसँग प्रत्यक्ष रूपमा जोडिएको भन्दै जुडशितलको विशेष महत्व रहेको बताए।
उनले यस पर्वमा जात, धर्म, लिंगको भेदभाव बिना सबैले आपसी माया र सद्भाव साट्दै माटो खेल्ने परम्परा रहेको उल्लेख गरे। जुडशितलका अवसरमा तराई–मधेशमा करही, तरुवा, सिजनको तरकारी र दहीजस्ता परिकार खाने चलन पनि रहेको छ।
