१ वैशाख,सिरहा : नयाँ वर्ष २०८३ को पहिलो दिन ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल सलहेश फूलबारीमा श्रद्धालुहरूको भव्य उपस्थिति देखिएको छ। वर्षको एक दिन अर्थात् वैशाख १ गते मात्र फुल्ने विश्वास गरिएको दुर्लभ ‘सुनाखरी’ फूलको अवलोकन र पूजाअर्चना गर्न बिहानै देखि नेपाल र सीमावर्ती भारतका विभिन्न स्थानबाट हजारौँ पर्यटकहरूको आगमन भएको छ।
लहान नगरपालिकामा अवस्थित करिब नौ बिघा क्षेत्रफलमा फैलिएको यस प्राचीन फूलबारीमा रहेको हारमको रूखमा फूल ढकमक्क फक्रिए पछि यतिबेला यो क्षेत्र निकै उत्सवमय र आकर्षक बनेको छ।१४औँ शताब्दीका लोकनायक राजा सलहेश र उनकी प्रेमिका मालिनीको अमर प्रेमको प्रतीक मानिने यो फूलको आफ्नै पौराणिक र अलौकिक महत्त्व रहेको छ।
किम्वदन्ती अनुसार हरेक वर्षको सुरुवातमा राजा सलहेशको प्रतीक्षामा मालिनी फूलका रूपमा प्रकट हुने विश्वास गरिन्छ, जसलाई हेर्न र मनोकाङ्क्षा पूरा हुने आशमा भक्तजनहरू यहाँ आउने गर्दछन्।
बढ्दो भीड र पर्यटकको चापलाई मध्यनजर गर्दै स्थानीय प्रशासन तथा मेला व्यवस्थापन समितिले सुरक्षा र दर्शनका लागि विशेष प्रबन्ध मिलाएको छ। प्राकृतिक चमत्कार र सांस्कृतिक आस्थाको संगम मानिने यो अनौठो दृश्यले नयाँ वर्षको पहिलो दिनलाई विशेष र उमङ्गमय बनाएको छ।
