२९ चैत,काठमाडौं/मुम्बई । भारतीय संगीत जगतकी महान गायिका तथा स्वरकी अद्वितीय धनी Asha Bhosle को ९२ वर्षको उमेरमा निधन भएको छ। मुम्बईस्थित Breach Candy Hospital मा उपचारका क्रममा आइतबार उहाँले अन्तिम सास लिनुभएको हो। उहाँको निधनको खबरले विश्वभरका संगीतप्रेमीलाई स्तब्ध बनाएको छ।
पारिवारिक स्रोतका अनुसार केही दिनअघि उहाँलाई छातीमा संक्रमण (चेस्ट इन्फेक्सन) र अत्यधिक थकानका कारण अस्पताल भर्ना गरिएको थियो। प्रारम्भमा हृदयाघात भएको खबर सार्वजनिक भए पनि पछि परिवारले संक्रमण र उमेरजन्य कमजोरीका कारण स्वास्थ्य अवस्था गम्भीर बनेको स्पष्ट पारेको थियो। चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद अन्ततः उहाँलाई बचाउन सकिएन, र उहाँका छोराले निधनको औपचारिक पुष्टि गरेका छन्।
उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजे देखि राखिनेछ भने साँझ ४ बजे मुम्बईको ऐतिहासिक Shivaji Park मा अन्तिम संस्कार गरिने तयारी गरिएको छ। देश–विदेशका कलाकार, राजनीतिक व्यक्तित्व तथा हजारौं प्रशंसकले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्ने अपेक्षा गरिएको छ।
सन् १९३३ मा जन्मिनुभएकी Asha Bhosle ले करिब आठ दशक लामो सांगीतिक यात्रामा १२ हजार भन्दा बढी गीतमा आफ्नो जादुमयी स्वर दिनु भएको थियो। उहाँको नाम ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा समेत सूचीकृत छ। हिन्दी मात्र नभई विभिन्न भारतीय तथा अन्तर्राष्ट्रिय भाषामा गाइएका उहाँका गीतहरूले विश्वभर विशेष स्थान बनाएका छन्।
नेपाली संगीतमा समेत उहाँको योगदान अविस्मरणीय छ। ‘कान्छी’ चलचित्रका “कहाँमा काट्यो चुइँचुइँ” र “मोहनी लाग्ला है” जस्ता गीतहरू आज पनि नेपाली श्रोतामाझ उत्तिकै लोकप्रिय छन्। उहाँको स्वरले नेपाल–भारत सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाएको मानिन्छ।
