२८ चैत,जनकपुरधाम । धनुषा जिल्ला अदालतले विवादित जग्गामा यथास्थितिमा राख्न आदेश दिए पनि सोही जग्गा अवैध रूपमा किनबेच गरी घर निर्माण गरिएको तथ्य बाहिर आएको छ, जसले अदालतको आदेश अवहेलना भएको गम्भीर प्रश्न उठाएको छ।
अदालतको पत्र अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ मा रहेको कित्ता नम्बर १२ र ४६ को जग्गामा कुनै पनि प्रकारको निर्माण नगर्न र भौतिक स्वरूप परिवर्तन नगर्न स्पष्ट आदेश दिइएको थियो। उक्त जग्गालाई यथास्थितिमा राख्दै जानकारी अदालतमा पठाउन सम्बन्धित निकायलाई निर्देशन समेत दिइएको थियो।

तर, स्थानीय स्रोतका अनुसार रघुनाथ सदनका महन्त नामदेव शरण तथा उनका कथित चेला भवेश झाले सो जग्गा विभिन्न व्यक्तिहरूलाई अवैध रूपमा बिक्री गरी दिएका छन्। हाल उक्त खाली जमिनमा घर निर्माण भइसकेको र केही स्थानमा बसोबास समेत सुरु भइसकेको देखिन्छ।
स्थलगत तस्वीरहरूमा पनि रोक्का गरिएको जमिनमा इँटा, बालुवा राखेर निर्माण कार्य गरिएको र केही घरहरू तयार भइसकेको स्पष्ट देखिन्छ। यसले अदालतको आदेशको प्रत्यक्ष अवज्ञा गरिएको संकेत गर्छ।

कानुनी रूपमा अदालतले दिएको ‘यथास्थितिमा राख्ने’ आदेश उल्लङ्घन गर्नु अदालतको अवहेलना अन्तर्गत पर्न सक्छ, जसमा संलग्न व्यक्तिमाथि कडा कारबाहीको व्यवस्था रहेको छ।
यस विषयमा सम्बन्धित निकाय र प्रशासन मौन देखिएको भन्दै स्थानीयले छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्। यदि आरोप पुष्टि भएमा यो प्रकरणले कानुनी शासनमाथि गम्भीर प्रश्न उठाउने देखिन्छ।
अहिले यो घटनाले जनकपुर क्षेत्रमा व्यापक चर्चा पाएको छ भने अदालतको आदेश कार्यान्वयनमा कमजोरी भएको विषयमा पनि बहस सुरु भएको छ।
