१७ जेठ, काठमाडौँ : नेपाली अटोमोबाइल बजारमा एसपीजी अटोमोबाइल्सले नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ। नेपालमा यसअघि नै १५०० भन्दा बढी गुडिसकेको ओमोडा ई फाइभको उत्साहजनक सफलतापछि कम्पनीले अझ उन्नत प्रविधि, आधुनिक डिजाइन र प्रिमियम सुविधाहरू समेटेर यसको परिमार्जित प्रो संस्करण बजारमा ल्याएको हो।
गाडी सार्वजनिक भएको विशेष अवसरमा कम्पनीले सुरुवाती ५० ग्राहकका लागि आकर्षक छुटको व्यवस्था गर्दै ४९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराउने घोषणा गरेको छ, जबकि यसको वास्तविक बजार मूल्य ५१ लाख ५९ हजार रुपैयाँ तोकिएको छ। यसका साथै सुरुवाती ग्राहकले एक वर्षसम्मको निःशुल्क बीमा सुविधा समेत पाउनेछन्।

नयाँ ओमोडा ई फाइभ प्रोमा ५०.७ किलोवाट घण्टाको शक्तिशाली ब्याट्री र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले २८८ न्यूटन मिटर टर्क पैदा गर्छ। कम्पनीको दाबी अनुसार यो गाडीले एक पटकको फुल चार्जमा करिब ३५० किलोमिटरसम्मको दूरी सजिलै पार गर्न सक्छ। नेपाली सडकको अवस्थालाई मध्यनजर गर्दै यसमा १९१ मिलिमिटरको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स र १८ इन्चका बलिया ह्वीलहरू राखिएका छन्, जसले यात्रालाई थप सहज बनाउनेछन्।

डिजाइनका दृष्टिकोणले यो एसयूभी निकै अत्याधुनिक, आकर्षक र प्रिमियम लुक्समा उपलब्ध छ। यसको भित्री भागमा आरामदायी सिट, प्रिमियम सनरुफ, उच्च गुणस्तरका भित्री सामग्रीहरू र नियन्त्रणका लागि ठूलो आकारको इन्फोटेनमेन्ट टचस्क्रिन डिस्प्ले समावेश गरिएको छ।

यात्रु र सवारीको सुरक्षालाई उच्च प्राथमिकता दिँदै यस गाडीमा १९ भन्दा बढी स्मार्ट ड्राइभिङ सहयोग प्रणाली (ADAS) र गाडीको चारैतिर स्पष्ट निगरानी राख्न मिल्ने ५४० डिग्रीको अत्याधुनिक क्यामेरा प्रणाली जडान गरिएको छ। नयाँ प्रविधिको खोजीमा रहेका ग्राहकका लागि यो गाडी अब नेपालभर रहेका आधिकारिक शोरूमहरूमा बुकिङका लागि खुला भइसकेको छ।
