२६ वैशाख,जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को कार्यशैली र निर्णयको खुलेर प्रशंसा गर्नुभएको छ। कानुन दिवसको अवसरमा शनिबार जनकपुरधाममा आयोजित पहिलो ‘न्यायिक महोत्सव’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले प्रधानमन्त्री बालेनले न्याय क्षेत्रमा चाल्नुभएको कदम देशको हितमा रहेको बताउनु भयो।
विशेषगरी सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा वरिष्ठताको पुरानो परम्पराभन्दा माथि उठेर सक्षमता र योग्यतालाई आधार मानी गरिएको सिफारिसलाई उहाँले ऐतिहासिक निर्णयको संज्ञा दिनुभयो।सम्बोधनका क्रममा मुख्यमन्त्री यादवले प्रधानमन्त्री बालेनको यो निर्णय देशका लागि सौभाग्यपूर्ण साबित हुने विश्वास व्यक्त गर्नुभयो।

वर्षौंदेखि चलिआएको परिपाटीलाई तोड्दै गरिएको यो सिफारिसले मुलुकको न्यायिक इतिहासमा नयाँ आयाम थप्ने र यसले भविष्यमा सकारात्मक परिणाम दिने उहाँको भनाइ थियो। उहाँले न्यायालयको स्वतन्त्रता र गरिमालाई जोगाउन यस्ता साहसिक निर्णयहरूको आवश्यकता पर्नेमा जोड दिनुभयो।
त्यसैगरी, मुख्यमन्त्री यादवले न्यायालयको क्षेत्राधिकार र स्वतन्त्रताको विषयमा बोल्दै शक्ति सन्तुलनको सिद्धान्तअनुसार न्यायालयमा कार्यपालिका हाबी हुन नहुने धारणा राख्नुभयो। कानुनको कार्यान्वयन र न्याय सम्पादनका क्रममा कुनै पनि किसिमको राजनीतिक हस्तक्षेप हुनु नहुनेमा उहाँले विशेष जोड दिनुभयो।

उच्च अदालत जनकपुर अन्तर्गतका मधेश प्रदेशका आठवटै जिल्लाका न्यायाधीशहरूलाई आग्रह गर्दै उहाँले कुनै पनि प्रभावमा नपरी निष्पक्ष फैसला सुनाउन निर्देशन दिनुभयो। ‘अपराधीले सजाय पाउनुपर्छ तर कोही पनि निर्दोष व्यक्तिले सजाय भोग्नु नपरोस्’ भन्नेमा न्यायका सारथीहरू सधैं दृढ रहनुपर्ने उहाँको आग्रह थियो।
कानुन दिवसको अवसर पारेर आयोजना गरिएको यस न्यायिक महोत्सवमा मधेश प्रदेशका आठवटै जिल्लाका न्यायाधीश, अदालतका कर्मचारी र कानुन क्षेत्रका सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा अदालतमा कार्यरत कर्मचारी, सर्वसाधारण र कानुन संकायका विद्यार्थीहरू गरी १५०० भन्दा बढीको उपस्थिति रहेको थियो। यो महोत्सवले नागरिक र न्यायालयबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास लिइएको छ।
