२२ वैशाख,काठमाडौं ।नेपाली चलचित्र ‘लालीबजार’ को प्रदर्शनलाई लिएर परेको मुद्दामा उच्च अदालत पाटनले भोलि बुधबारका लागि सुनुवाइ तोकेको छ। न्यायाधीशद्वय गिता प्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासले मंगलबारको बहसपछि सेन्सर बोर्डबाट चलचित्रको सक्कल सेन्सर कपी मगाउने आदेश दिएको हो।
यसअघि अदालतले १५ वैशाखमा फिल्मको प्रदर्शन रोक्न अन्तरिम आदेश दिएको थियो, जसका कारण १८ वैशाख देखि हलमा लाग्ने तयारीमा रहेको यो चलचित्र अन्योलमा परेको थियो।निर्देशक यम थापाको निर्देशनमा बनेको यो फिल्मले आमा र छोरीको भावनात्मक कथालाई समेटेको छ।
चलचित्र निर्माण पक्षले कुनै पनि समुदाय विशेषको भावनामा ठेस पुग्ने दृश्य वा संवाद नरहेको दाबी गर्दै आएको छ, जसलाई सार्वजनिक कार्यक्रममा बादी समुदायका अभियन्ताहरूले समेत सकारात्मक प्रतिक्रिया दिएका थिए। षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा प्रदीप भट्टराई कार्यकारी निर्माता र म्याक्स दीपेश खत्री तथा रवीन्द्रसिंह बानियाँ निर्माता रहेका छन्।
यसै फिल्म मार्फत थिएटर कलाकार विशाल देवकोटा र चर्चामा रहेकी अभिनेत्री प्रसंशा सुवेदीले नेपाली रजतपटमा डेब्यु गर्दैछन्। सफल फिल्महरू ‘जात्रा’ र ‘महापुरुष’ पछि निर्माण भएको ‘लालीबजार’ को भविष्य अब बुधबार अदालतमा पेश गरिने सेन्सर कपी र त्यसपछिको बहसले तय गर्नेछ।
