२२ वैशाख,काठमाडौं । श्रम संस्कृति पार्टीले सीमा सुरक्षा, कूटनीति र अर्थतन्त्रको सवालमा वर्तमान सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीले दार्चुलाको दुम्लिङसम्म सडक विस्तार गर्न नसकेको र महाकाली नदी किनारमा भइरहेको भारतीय अतिक्रमण रोक्न सरकार असफल भएको आरोप लगाएको छ।
भारतले लिपुलेक हुँदै कैलाश–मानसरोवर जाने सडक निर्माण गरिरहँदा र महाकाली नदी मिचेर किनारै किनार बाटो बनाउँदा पनि सरकार मूकदर्शक बनेको भन्दै पार्टीले प्रश्न उठाएको छ।कूटनीतिक नोट पठाएर मात्र औपचारिकता पूरा गर्ने सरकारी प्रवृत्तिको आलोचना गर्दै श्रम संस्कृति पार्टीले नेपाल, भारत, चीन र सम्बन्धित पक्षहरूबीच चतुष्पक्षीय वार्ताको पहल गर्न माग गरेको छ।
विज्ञप्तिमा सीमा जोगाउनका लागि केवल कर्मकाण्डी प्रक्रियामा नअल्झिएर ठोस वार्ता टोलीमार्फत संवाद अघि बढाउनुपर्नेमा जोड दिइएको छ।यस्तै, पार्टीले आन्तरिक समस्याहरूका सन्दर्भमा पनि सरकारको आलोचना गरेको छ। सुकुम्बासी बस्ती हटाउन डोजर प्रयोग गर्नुको सट्टा तिनलाई विपद् व्यवस्थापन र बाढी–पहिरोले क्षति पुर्याएका पूर्वाधार पुनर्निर्माणमा लगाउन सुझाव दिइएको छ।
अर्थतन्त्रको अवस्था बिग्रँदै गएको भन्दै थप वैदेशिक ऋण लिने कार्य रोक्न र आर्थिक सुधारमा ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरिएको छ। अर्थतन्त्र र जनजीविकाको रक्षा गर्न नसक्ने सरकारले पदमा बसिरहनुको औचित्य नभएको भन्दै आवश्यक परे राजीनामा दिएर मार्ग प्रशस्त गर्न समेत पार्टीले चेतावनी दिएको छ।
