१९ वैशाख,काठमाडौं । अन्तर्राष्ट्रिय यातायात मजदुर संगठन (आईटीएफ) का महासचिव स्टेफन कटनले नेपालमा ट्रेड युनियन अधिकारको संरक्षणप्रति विश्व समुदाय गम्भीर रहेको बताएका छन्। उनले नेपाल सरकारले श्रमिक अधिकार सुनिश्चित गर्न ट्रेड युनियनहरू सँग अर्थपूर्ण र रचनात्मक संवाद गर्नु पर्नेमा जोड दिएका छन्।
नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी) को राष्ट्रिय परिषद् उद्घाटन समारोहमा शुक्रबार काठमाडौंमा बोल्दै कटनले बलियो र स्वतन्त्र ट्रेड युनियन बिना लोकतन्त्र सुदृढ हुन नसक्ने बताए। उनले श्रमिक अधिकारको रक्षा गर्न सरकारको भूमिका निर्णायक हुने उल्लेख गरे।
राजनीतिक संक्रमणका बेला श्रमिक अधिकार कमजोर बन्न सक्ने भन्दै उनले संघीय निजामती सेवा ऐनको मस्यौदाबाट संघ स्वतन्त्रता सम्बन्धी प्रावधान हटाउने विषय अस्वीकार्य भएको स्पष्ट पारे। उक्त विधेयकले सार्वजनिक क्षेत्रमा कामदारका अधिकार सीमित गर्ने र सामाजिक संवादमा समस्या सिर्जना गर्ने खतरा रहेको उनको भनाइ थियो।

‘सरकारले ल्याएको प्रस्तावले श्रमिक अधिकारलाई संकुचित गर्ने संकेत देखिन्छ। त्यसैले हामी सरकारलाई रचनात्मक संवादमार्फत लोकतान्त्रिक ढंगले समाधान खोज्न आग्रह गर्छौं,’ उनले भने।
कटनले विश्वभरका करिब १ करोड ७० लाख यातायात मजदुरहरूको प्रतिनिधित्व गर्दै नेपाल आएको उल्लेख गर्दै नेपाली श्रमिकहरूको अधिकार रक्षामा अन्तर्राष्ट्रिय समर्थन रहने प्रतिबद्धता जनाए।
उनले नेपालमा ट्रेड युनियन अधिकार माथि हुने कुनै पनि हस्तक्षेपलाई विश्वव्यापी मुद्दाका रूपमा लिनु पर्ने बताए। साथै, अन्तर्राष्ट्रिय परिस्थितिका कारण बढ्दो महँगीले श्रमिक वर्गमा थप दबाब परेको पनि उनले उल्लेख गरे।
‘कठिन अवस्थामा हामी पछि हट्दैनौं, सहयोगका लागि अगाडि आउँछौं। संसारभरबाट नेपालमा आएर श्रमिक अधिकारका लागि सँगै उभिनेछौं,’ उनले भने।
कटनका अनुसार श्रमिक अधिकार कुनै एक पक्षको विषय नभई न्यायपूर्ण समाज निर्माणको आधार हो। स्वतन्त्रता, सामूहिक सौदाबाजी र मर्यादित श्रमको अधिकारलाई उनले मौलिक अधिकारका रूपमा व्याख्या गरे।
