चन्द्रिका श्रेष्ठको उद्धार देखि अस्थायी आश्रयसम्मको अवस्था बारे प्रधानमन्त्रीको सम्बोधन, राहत सँगै सुरक्षित पुनःस्थापनामा जोड
२० भदौ,काठमाडौं। भोटेकोशीमा आएको विनाशकारी बाढी पछि विस्थापित भएका ज्येष्ठ नागरिकको अवस्थाप्रति प्रधानमन्त्री बालेन्द्र शाहले गहिरो चिन्ता व्यक्त गर्दै उनीहरूको उद्धार, स्वास्थ्य उपचार र सुरक्षित पुनःस्थापनालाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको सन्देशमा नुवाकोटको विदुर–१०, बेत्रावतीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धार भएको घटनालाई उल्लेख गर्दै विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान निरन्तर जारी रहेको बताएका छन्।
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले श्रेष्ठलाई उद्धार गरेको जानकारी दिँदै उनले यसअघि पनि जोखिममा रहेका ज्येष्ठ नागरिकलाई सुरक्षित स्थानमा सारिएको बताएका छन्।
बाढीले ज्येष्ठ नागरिकको जीवनमा थपियो गहिरो पीडा
प्रधानमन्त्री शाहले बाढीको प्रभावलाई केवल भौतिक क्षतिका रूपमा नहेर्न आग्रह गरेका छन्। घर, खेतबारी र सम्पत्ति गुमाउनुका साथै आफन्त तथा जीवनसाथी गुमाएका ज्येष्ठ नागरिकले ठूलो मानसिक पीडा खेपिरहेको उनले उल्लेख गरेका छन्।
वर्षौँसम्म आफूले निर्माण गरेको घरआँगन, खेतबारी र पशुधन एकैपटक गुमाउँदा ज्येष्ठ नागरिकको जीवनमा परेको असर निकै गम्भीर रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।
कतिपय वृद्धवृद्धाले बाढीको समयमा आफ्ना नातिनातिनालाई समातेर सुरक्षित स्थान तर्फ भाग्नु परेको र वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक समेत विस्थापित हुनु परेको उनले बताएका छन्।
वृद्धाश्रमका २४ ज्येष्ठ नागरिकलाई वैकल्पिक आश्रय
बाढीबाट नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको भवनमा क्षति पुगेपछि त्यहाँ रहेका ज्येष्ठ नागरिकलाई वैकल्पिक स्थानमा व्यवस्थापन गरिएको प्रधानमन्त्री शाहले बताएका छन्।
उनका अनुसार ७ जनालाई काठमाडौंको म्हैपीस्थित नेपाल सिनियर केयरमा तथा १७ जनालाई नुवाकोटको इनारपाटी स्थित कृष्ण प्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको छ।
उनीहरूका लागि ह्वीलचियर तथा वाकरको व्यवस्था गर्नुका साथै स्वास्थ्य परीक्षण र मनोसामाजिक परामर्श समेत सञ्चालन भइरहेको प्रधानमन्त्रीले जानकारी दिएका छन्।
राहतभन्दा अगाडि पुनःस्थापनाको प्रश्न
बाढी पछि तत्काल राहत र उद्धार भए पनि विस्थापित नागरिकलाई दीर्घकालीन रूपमा कहाँ र कसरी बसोबास गराउने भन्ने चुनौती अझै बाँकी छ।
प्रधानमन्त्री शाहले प्रभावित ज्येष्ठ नागरिकको अस्थायी बसाइलाई सके सम्म छोटो बनाएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यससँगै बाढी प्रभावित क्षेत्रको पुनःनिर्माण र पुनःस्थापनामा राज्यको दीर्घकालीन भूमिका महत्वपूर्ण हुने देखिएको छ।
पीडितको आक्रोशप्रति प्रधानमन्त्रीको संवेदनशील अपिल
बाढीमा आफन्त गुमाएका नागरिकको आक्रोशलाई प्रधानमन्त्री शाहले स्वाभाविक बताएका छन्।उनले पीडितको आक्रोशलाई विरोधका रूपमा मात्र नभई गहिरो पीडा अभिव्यक्त गर्ने माध्यमका रूपमा बुझ्नुपर्ने धारणा राखेका छन्।
विपद्का बेला पीडित नागरिकलाई थप मानसिक पीडा दिने वा अपमानजनक टिप्पणी गर्ने प्रवृत्तिप्रति उनले आपत्ति जनाएका छन्।
खोज तथा उद्धारमा सुरक्षाकर्मी निरन्तर
बाढीबाट प्रभावित क्षेत्रमा सुरक्षाकर्मीहरू अझै पनि खोज तथा उद्धारमा खटिरहेको प्रधानमन्त्री शाहले बताएका छन्।दलदल र क्षतिग्रस्त संरचनाबीच समेत सुरक्षाकर्मीले जोखिम मोलेर काम गरिरहेको उल्लेख गर्दै उनले उद्धारमा खटिने सुरक्षाकर्मीको मनोबल बढाउनु सबैको जिम्मेवारी भएको बताएका छन्।
बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री शाहले शोकाकुल परिवारप्रति समेत संवेदना व्यक्त गरेका छन्।
‘हजुरहरू यो देशका जग हुनुहुन्छ’
प्रधानमन्त्री शाहले ज्येष्ठ नागरिकलाई देशको अनुभव, संस्कार र मार्गदर्शनको स्रोतका रूपमा चित्रण गरेका छन्।विपद्ले उनीहरूको घर र जायजेथा खोसे पनि स्वाभिमान, अनुभव र समाजलाई दिएको योगदान खोस्न नसक्ने उनको भनाइ छ।
अन्त्यमा उनले बाढीपीडित ज्येष्ठ नागरिकलाई सरकारप्रति भरोसा राख्न आग्रह गर्दै कठिन अवस्थामा राज्यले उनीहरूलाई एक्लै नछोड्ने प्रतिबद्धता दोहोर्याएका छन्।
प्रधानमन्त्री शाहको यो सन्देशले तत्कालीन उद्धारसँगै विपद्पछिको मानवीय पुनःस्थापनालाई समेत सरकारको जिम्मेवारीका रूपमा अघि सारेको छ।
