३० वैशाख,वीरगन्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजी) दानबहादुर कार्कीले प्रहरी कार्यालयहरूमा अनावश्यक व्यक्ति र बिचौलियाको प्रवेशलाई कडाइका साथ नियन्त्रण गर्न निर्देशन दिनुभएको छ। जिल्ला प्रहरी कार्यालय पर्सामा युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युएनओपिएस) को करिब २ करोड ४३ लाख रुपैयाँ आर्थिक सहयोगमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो।
आइजी कार्कीले पञ्चायत वा मेलमिलापबाट टुङ्गिसकेका विषयलाई समेत बिचौलियाहरूले पुनः बल्झाएर समस्या सिर्जना गर्ने गरेको उल्लेख गर्दै यस्ता गतिविधि रोक्न प्रहरी प्रशासनलाई पूर्ण रूपमा सतर्क रहन सचेत गराउनुभयो।कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महानिरीक्षक कार्कीले समाजका कमजोर र असहाय वर्गप्रति प्रहरीको व्यवहार थप जिम्मेवार र सहानुभूतिपूर्ण हुनुपर्नेमा जोड दिनुभयो।

कतिपय अवस्थामा महिला, बालबालिका र ज्येष्ठ नागरिकले आफ्ना समस्या लिखित रूपमा बुझाउन नसक्ने भएकाले उनीहरूले मौखिक रूपमा राखेका पीरमार्कालाई आधार मानी प्रहरी आफैँले निवेदन तयार गरिदिएर कानुनी प्रक्रिया अघि बढाउन उहाँले विशेष निर्देशन दिनुभयो। १ हजार ४ सय वर्गफिटमा फैलिएको यो अत्याधुनिक सेवा केन्द्रले घरेलु हिंसा र सामाजिक अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
बढ्दो प्रविधि र यसका माध्यमबाट हुने अपराधका चुनौतीबारे चर्चा गर्दै आइजी कार्कीले अबको प्रहरी संगठनलाई प्रविधिमैत्री बनाउनुको विकल्प नभएको बताउनु भयो। अपराधीले उन्नत प्रविधिको प्रयोग गरिरहेको अवस्थामा त्यसलाई नियन्त्रण गर्न प्रहरीसँग सोही स्तरको वा त्योभन्दा उन्नत प्रविधि हुनुपर्ने उहाँको तर्क थियो।

वीरगन्ज देशको आर्थिक राजधानी र मुख्य प्रवेशद्वार भएकाले यहाँको सुरक्षा र सामाजिक सद्भावमा आँच आए त्यसको असर मुलुकको राजस्व र समग्र अर्थतन्त्रमै पर्ने भन्दै उहाँले शान्ति सुरक्षा कायम गर्न आम नागरिकको सक्रिय साथ र सहयोगको अपेक्षा समेत गर्नुभयो।
