२५ वैशाख ,जनकपुरधाम । कानुन दिवसको सुखद अवसर पारेर मधेश प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक ‘न्यायिक महोत्सव’ आयोजना हुने भएको छ। उच्च अदालत जनकपुरका कायममुकायम प्रमुख न्यायाधीश टेक नारायण कुँवरले शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गरी यस ऐतिहासिक कार्यक्रमबारे विस्तृत जानकारी दिनुभएको हो।
शनिबार आयोजना हुने यस महोत्सवले न्याय प्रणाली र आम नागरिकबीचको दुरी कम गर्ने लक्ष्य राखेको छ।यस विशेष महोत्सवमा उच्च अदालत जनकपुर र यस अन्तर्गत रहेका वीरगञ्ज तथा सिरहा इजलासका न्यायाधीशहरूका साथै पुनरावेदन सुन्ने मधेश प्रदेशका आठवटै जिल्लाका न्यायाधीश, सरकारी वकिल, विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, कर्मचारीहरू र नागरिक समाजको व्यापक सहभागिता रहनेछ।

जनकपुरधाम स्थित महेन्द्र नारायण निधि सांस्कृतिक केन्द्रमा आयोजना हुने यस कार्यक्रमको मुख्य उद्देश्य आम जनमानसमा कानुनी जनचेतना जगाउने, न्याय सम्पादनको प्रक्रियाबारे सर्वसाधारणलाई बुझाउने र अदालत तथा सरकारी वकिलहरूले गर्ने कार्यसम्पादनबारे जानकारी दिनु रहेको कायममुकायम प्रमुख न्यायाधीश कुँवरले उल्लेख गर्नुभयो।
कार्यक्रममा कानुनी परामर्श, अन्तरक्रिया र विभिन्न प्रस्तुतीकरणहरू समेत समावेश गरिनेछ।समारोहको उद्घाटन सर्वोच्च अदालतका प्रधानन्यायाधीशले भर्चुअल माध्यमबाट गर्ने कार्यक्रम तय गरिएको छ।

महोत्सवको प्रमुख अतिथिका रूपमा मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण रहनु हुनेछ भने मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव र गृहमन्त्री फकिरा महतोले समेत कार्यक्रमलाई सम्बोधन गर्नु हुने जानकारी दिइएको छ। न्याय क्षेत्रका सबै सरोकारवालाहरूलाई एकै थलोमा ल्याएर आयोजना गर्न लागिएको यो महोत्सवले प्रदेशको न्यायिक साक्षरता र सुशासनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
