२४ वैशाख,चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोला क्षेत्रमा बिहीबार दिउँसो एक गुडिरहेको कारमा अचानक आगलागी भएको छ। नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको उक्त कारमा दिउँसो करिब ३:१५ बजे सडक माथिबाट ढुङ्गा खस्न पुगेको थियो। खसेको ढुङ्गाले कारको पेट्रोल ट्याङ्कीमा लागेपछि तत्कालै आगो सल्किएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीको सक्रियता र शीघ्र तत्परताका कारण कारमा लागेको आगोलाई थप फैलिन नदिई समयमै नियन्त्रणमा लिइएको थियो। प्रहरी उपरीक्षक रबिन्द्र खनालका अनुसार सुरक्षाकर्मीको समयमै हस्तक्षेप भएका कारण ठूलो क्षति हुनबाट जोगिएको छ।
