१० वैशाख,जनकपुर ।धनुषा र सिरहा जोड्ने कमला पुल मर्मत भन्दा नयाँ निर्माण नै उपयुक्त हुने निष्कर्ष सहित मधेश प्रदेश सरकारले तयारी अघि बढाएको छ।
बिहीबार जनकपुरधाम स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिरहाबाट आएको ‘नयाँ कमला पुल निर्माण संघर्ष समिति’ सँग छलफलपछि मुख्यमन्त्री कृष्णा प्रसाद यादवले नयाँ पुल निर्माणको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

उनका अनुसार हाल मर्मत भइरहे पनि पुल दीर्घकालीन रूपमा टिक्ने सम्भावना न्यून छ। प्राविधिक त्रुटिहरूका कारण नयाँ पुल निर्माण गर्नु अपरिहार्य देखिएको उनले बताए। केन्द्र सरकारको निर्देशन पछि सुरु गरिएको मर्मत कार्य असारसम्म सक्ने लक्ष्य राखिए पनि प्रगति सन्तोषजनक नभएको उनको भनाइ छ।
मुख्यमन्त्री यादवले नयाँ पुल निर्माणका लागि करिब २०० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको जानकारी दिए। प्रदेश सरकारसँग यति ठूलो परियोजना सञ्चालन गर्ने कार्यविधि नभएकाले केन्द्र सरकारसँग समन्वय गरेर अघि बढ्ने तयारी भइरहेको उनले बताए।
छिट्टै काठमाडौं पुगेर सम्बन्धित निकायसँग थप छलफल गर्ने योजना रहेको बताउँदै उनले नयाँ पुल निर्माण भएपछि धनुषा र सिरहाका बासिन्दाले प्रत्यक्ष लाभ पाउने विश्वास व्यक्त गरे।
