३० चैत,काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलो पटक घरजग्गा (रियल–स्टेट) कारोबारको वर्तमान अवस्था र प्रवृत्ति बारे विस्तृत तथ्याङ्क सार्वजनिक गर्दै देशको भूमि बजारको वास्तविक चित्र सार्वजनिक गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र आन्तरिक राजस्व विभागसँगको समन्वयमा तयार गरिएको यो प्रतिवेदनले रियल–स्टेट क्षेत्रमा देखिएका उतारचढाव, मौसमी प्रभाव तथा प्रादेशिक असमानतालाई स्पष्ट रूपमा उजागर गरेको छ । अबदेखि यस्ता तथ्याङ्कहरू त्रैमासिक रूपमा प्रकाशन गरिने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिवेदन अनुसार घरजग्गा कारोबारमा स्पष्ट मौसमी प्रवृत्ति देखिएको छ । आर्थिक वर्षको पहिलो त्रैमासमा कारोबार सुस्त रहने, भने तेस्रो र चौथो त्रैमासमा उल्लेख्य रूपमा बढ्ने प्रवृत्ति देखिएको छ । प्रादेशिक आधारमा हेर्दा कारोबार सङ्ख्या र क्षेत्रफल दुवैमा मधेस प्रदेश अग्रस्थानमा रहेको छ । लुम्बिनी र कोशी प्रदेश क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा घरजग्गा कारोबार न्यून देखिएको छ ।
जग्गाको आकार र मूल्यका आधारमा पनि फरक प्रवृत्ति देखिएको छ । मधेस प्रदेशमा २० आनाभन्दा ठूला प्लटहरूको कारोबार बढी हुने गरेको छ, जबकि बागमती लगायत अन्य प्रदेशहरूमा २.५ देखि १० आना सम्मका साना प्लटहरूमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ । यद्यपि, कारोबारको कुल मूल्य (थैली रकम) का हिसाबले भने बागमती प्रदेश नै अग्रस्थानमा रहेको छ । महानगर र उपमहानगर क्षेत्रहरूमा ५ देखि १० आनाका जग्गाहरूको किनबेच बढी हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।
राजस्वका हिसाबले घरजग्गा क्षेत्रबाट प्राप्त आम्दानीमा उतारचढाव देखिएको छ । आर्थिक वर्ष २०७८/७९ मा करिब २३.७ अर्ब रुपैयाँ पुगेको राजस्व त्यसपछि घटे पनि पछिल्लो समय सुधार हुँदै आ.व. २०८१/८२ मा करिब १५ अर्ब रुपैयाँको हाराहारीमा पुगेको छ । विगत पाँच वर्षमा घरजग्गा कर्जा ७२.४१ प्रतिशत र आवासीय कर्जा ६१.५५ प्रतिशतले वृद्धि हुनुबाट बैंक तथा वित्तीय संस्थाको लगानी यस क्षेत्रमा मजबुत रहेको देखिन्छ ।
यसै आधारमा राष्ट्र बैंकले छिट्टै ‘घरजग्गा मूल्य सूचकाङ्क’ सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ, जसले बजार मूल्यको वैज्ञानिक मापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
